News Desk
बगनासकाली गाउँपालिका २ पोखराथोकका ३९ वर्षीय यज्ञबहादुर कुमालको हत्या आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मृतक कुमालका बुबा ६३ वर्षीय शेरबहादुर कुमाल र उनकी दिदी ३९ वर्षीया देवी कुमाल रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।
फागुन १५ गते बेलुकी साढे सात बजे यज्ञबहादुर आफ्नै घरमा बेहोस अवस्थामा फेला परेका थिए। उनकी श्रीमतीले उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा लगेकीमा चिकित्सकले मृत घोषणा गरेका थिए।
बुवा र दिदीले कुटपिट गरेर हत्या गरेको प्रहरी प्रारम्भिक अनुसन्धानमा खुलेको प्रनाउ मल्लले बताए। उनीहरूबीच घरायसी झगडा भएको बुझिएको छ।
निरन्तरको अनुसन्धानपछि उनीहरूलाई आइतवार प्रहरीले नियन्त्रणमा लिएको हो। सो घटनामा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको छ।
सोमवार जिल्ला अदालत पाल्पाबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।