News Desk
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बेथिति अन्त्यका लागि विगतका संघीयमन्त्री वा प्रदेशका मुख्यमन्त्रीहरुले पनि कुनै काम नगरेको आरोप लगाउँदै आफ्नो जीवनको परवाह नगरी बिसौँ वर्षदेखिका बेथिति अन्त्यका लागि आफूले अभियान सञ्चालन गरेको दावी गरेका छन।
शुक्रवार सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन। उनले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा भएका बेथिति अन्त्यका लागि अभियान सञ्चालन गर्दा विभिन्न ठाउँबाट भड्काउने प्रयास गरेको भन्दै आफूले आँट गरेर अगाडि बढेको दावी गरे।
मधेशका केही स्थानमा एकैदिन भएको २१ वटा अस्पताल अनुगमनमा २० वटा बिनादर्ता सञ्चालित पाइएकाले ती अस्पताल तत्काल बन्द गरिएको उनको भनाइ छ।
‘सार्वजनिक रुपमा काम गर्दै जाँदा प्रश्नको कुरै आउँदैन‚ यो सार्वजनिक जनहितको कुरा हो। यसमा धेरै प्रेसर आउँछ, यो नगरी दिनुहोस त्यो नगरी दिनुस भनेर तर यो बेथिति आज न भोलि कसैले त अगाडि बढ्नैपर्छ‚’ उनले भने, ‘हामीले आँट गरेर अगाडि बढेका छौँ। काम गर्दै जाँदा मलाई डिमोनलाइज्ड गर्न खोज्छ, यो बाटोबाट भट्काउन खोज्छ विभिन्न किसिमका थ्रेटहरु हुन्छ। तथापि त्यसलाई यसलाई छोड्यो भने भोलिका दिनमा अर्कै कुरा निस्किन्छ । त्यसैले यो निरन्तर जारी रहन्छ।’
उनले विगतका सरकारले पनि विभिन्न धम्कीका कारण काम गर्न नसकेको हुनसक्ने भन्दै आफूले बेथिति अन्त्यका लागि ज्यानको बाजी लगाएर भए पनि अभियान जारी राख्ने बताए।
‘चपुर, नवलपुर र हरिवनमा २१ वटा अस्पतालको अनुगमन गर्दा २० वटा बिनादर्ताको थियो‚ त्यही दिन बन्द गयौँ र एउटामात्र सञ्चालन भयो‚’ उनले भने, ‘अब यो २० जना त मेरो पछाडि खनिएर लाग्छ तर उनीहरुले जे जे भन्नु छ भनोस्, जबसम्म कन्ट्रोल हुँदैन तबसम्म यो अभियान रोकिँदैन। विगतका सरकारको यो ड्युटी थियो‚ हरेक स्वास्थ्यमन्त्री बनेको छ, संघीयता आइसकेपछि स्वास्थ्यमन्त्री होस वा मुख्यमन्त्री होस यो आफ्नो प्रदेशमा भएका बेथितिलाई कन्ट्रोल गर्न सबैको दायित्व र कर्तव्य हो।’
मुख्यमन्त्री सिंहले मधेशका आठैवटा जिल्लामा नक्कली डाक्टरले मान्छेको ज्यानसँग प्रत्यक्ष खेलवाड गरेको भेटिएको बताए।
बिना मापदण्ड खोलिएका अस्पतालहरुमा डाक्टरको एनएमसी नम्बरसमेत नक्कली भेटिएको उनको भनाइ छ। उनले एम्बुलेन्स चालक तथा अनमी र अहेब पढेका व्यक्तिहरुले समेत अस्पताल सञ्चालन गरेको भेटिएको बताए।
‘अप्रेसन गर्छ विदआउट एनेस्थेसिया डाक्टर‚ सिग्नेचर हुन्छ तर डाक्टर हुँदैन। २/३ महिना ट्रेनिङ लिएको भरमा अप्रेसन गर्छ। मान्छेको ज्यानसँग प्रत्यक्ष खेलबाड भयो‚ न त कुनै मापदण्ड छ न त अनुगमन। यस्तो बिसौँ वर्षदेखि यस्तै छ‚’ उनले भने, ‘यस्तो सम्म भयो कि एम्बुलेन्सका चालकहरु मिलेर पनि अस्पताल खोलेका छन। अनमि र अहेब पढेको छ जागिर कतै पाएन, २/४ जना मिलेर अस्पताल खोलेका छन २/४ वटा कोठा भाडामा लिएर। खोज्दै जाँदा यस्तो पनि भेटियो कि डाक्टरको एनएमसी नम्बर राखेको हुन्छ तर त्यो फेक डाक्टर हुन्छ, अर्कैको एनएमसी नम्बर युज गरेको हुन्छ।’
मुख्यमन्त्री सिंहले एसइई नजिक आइसकेकाले त्यसमा भएका बेथिति अन्त्यका लागि आफूले अभियान सञ्चालन गरिरहेको बताए।
उनले मधेशका ८ वटै जिल्लाका शिक्षा अधिकारीलाई एसइई परीक्षामा कतै चिट भेटिए केन्द्राध्यक्षलाई निलम्बन गर्नेसम्मको तयारी गरेको बताए।