१७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार तथा शंकास्पद मृत्यु प्रकरण : ८ जना पक्राउ
News Desk
Mar-08 , 2025 तारिख 06:43 बिहान

सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार तथा शंकास्पद मृत्यु घटनामा पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। 

प्रहरीका अनुसार हालसम्म ८ जना पक्राउ परेका छन भने ४ जना फरार छन। 

पक्राउ पर्नेहरूमा बलात्कारका मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडासदस्य नथुनी साहसहित स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, राजेन्द्र मण्डल, चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दास छन।

त्यसमध्ये रुपेश, नथुनी, रामकृपाल र विन्देश्वर जाहेरीमा नाम किटान गरिएका व्यक्ति हुन भने अन्यको जाहेरीमा नाम उल्लेख नभए पनि पञ्चायतीमा भूमिका देखिएको जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। 

अभियुक्तमध्येका चन्देश्वर, रामविनोद र कमलेशलाई प्रहरीले फागुन ११ मै पक्राउ गरेको थियो। त्यसैगरी बलात्कारका मुख्य अभियुक्त रुपेश गत २१ गते पक्राउ परेका थिए। 

अन्य ४ जनालाई लुकिछिपी बसेको अवस्थामा विभिन्न स्थानबाट आज पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रनाउ पासवानका अनुसार पक्राउ परेकाहरुलाई जिल्ला अदालत सिरहाबाट ५ दिनको म्याद थपेर थप अनुसन्धान थालिएको छ भने फरार अभियुक्तको खोजी भइरहेको छ।

धेरै पढिएको