पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति सांसदहरूले जनाए आपत्ति
News Desk
Mar-09 , 2025 तारिख 07:47 बेलुका

२५ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो सक्रियताप्रति सांसदहरूले असन्तुष्टि जनाउँदै लोकतन्त्रविरोधी गतिविधि रोक्न सरकारलाई सचेत गराएका छन्।

आइतबार राष्ट्रिय सभाको बैठकमा विभिन्न दलका सांसदहरूले देशभर भइरहेका नाराजुलुसप्रति चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराए। नेकपा एकीकृत समाजवादीका सांसद उदयबहादुर बोहराले लोकतन्त्रमाथि प्रहार भइरहेको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने बताए। उनले हालै काठमाडौंसहित विभिन्न सहरमा भएको प्रदर्शनप्रति असहमति जनाउँदै सरकारको भूमिकामाथि प्रश्न उठाए।

‘केही समययता मुलुकका विभिन्न ठाउँमा सरकारमात्र होइन, लोकतन्त्र नै लक्षित गरी जुलुसहरू निकालिएका छन्। तर, सरकार गम्भीर देखिँदैन,’ उनले भने। सरकारको कार्यशैली सुधार्नुपर्ने र गलत प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने उनको भनाइ छ।

पूर्वराजा ज्ञानेन्द्र विभिन्न स्थानहरूको भ्रमण सकेर काठमाडौं फर्किन लागेका छन्। उनलाई स्वागत गर्न राजावादीहरूले आइतबार विशेष र्‍याली निकाल्ने तयारी गरिरहेका छन्।

यसैबीच, नेपाली कांग्रेसका सांसद युवराज शर्माले सरकारलाई संविधानको मर्मअनुसार सुशासन कायम गर्न सुझाव दिए। ‘यदि सरकार जिम्मेवार भएर अघि बढ्यो भने व्यवस्था विरोधी अभियानहरू स्वतः निष्क्रिय हुनेछन्,’ उनले भने। गणतन्त्रवादी दलहरूबीच एकता र सहकार्य आवश्यक रहेको उनको धारणा छ।

सांसदहरूले संविधानवादी शक्तिहरूबीच सहमतिको आवश्यकता औंल्याउँदै लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सरकारलाई सक्रिय हुन आग्रह गरेका छन्।