News Desk
काठमाडौं – डा. रघुराज काफ्ले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका छन। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई बोर्डको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो।
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि ११ जनाले आवेदन दिएका थिए, जसबाट अन्तिम चरणमा पुगेका तीन जनाको सिफारिस सूचीमा डा. काफ्ले परेका थिए।
विकास अर्थशास्त्रीका रूपमा अनुभव र नेतृत्व
डा. काफ्ले एक अनुभवी विकास अर्थशास्त्री हुन। यसअघि, उनले स्वास्थ्य बीमा सुधार सुझाव समितिमा सदस्यका रूपमा योगदान दिएका थिए। साथै, गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा रही उनले महत्वपूर्ण नीतिगत कार्यहरू सम्पन्न गरेका थिए।
उनको नेतृत्व क्षमता वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा पनि प्रमाणित भइसकेको छ। प्रतिस्पर्धात्मक प्रक्रियाबाट पहिलो स्थान हासिल गर्दै उनले कार्यकारी निर्देशकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए।
नयाँ भूमिकाबाट थप प्रभावकारी सेवा अपेक्षा
तनहुँको साँगे मुल थलो भएका डा. काफ्लेसँग नीतिगत योजना निर्माण, आर्थिक व्यवस्थापन र सामाजिक सुरक्षा प्रणाली सुधारमा गहिरो अनुभव छ। उनी स्वास्थ्य बीमा बोर्डलाई झन प्रभावकारी र जनमुखी बनाउने अपेक्षा गरिएको छ।