उपत्यकामा हामीले सेप्टिक ट्याङ्की बनाउने अभियानमा लाग्नैपर्छ : उपप्रधानमन्त्री सिंह
News Desk
Mar-12 , 2025 तारिख 12:11 बेलुका

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आगामी बजेटमा उपत्यकाको समेट्नैपर्ने योजनाबारे उपत्यकाका जनप्रतिनिधिहरुसँग छलफल गरेका छन्। 

शहरी विकास मन्त्रालयमा  उपप्रधानमन्त्री सिंहले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका नगर प्रमुख र उपप्रमुखहरुसँग छलफल गरेका हुन्। 

सो क्रममा उपत्यकालाई कसरी व्यवस्थित र बस्नयोग्य शहर बनाउने, उपत्यकाका नदी प्रणाली सुधार्ने, फोहोरमैला र ट्राफिक व्यवस्थापनको समस्या कसरी हल गर्ने भन्ने विषयमा प्रमुख र उपप्रमुखहरुले धारणा राखेका थिए। 

उपप्रधानमन्त्री सिंहले उपत्यकामा बग्ने नदीहरुलाई सफा राख्न तीनै तहका सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिए।

उनले उपत्यकाका नदी प्रणाली स्वच्छ बनाउन ‘सेप्टिक ट्याङ्क’ अभियान चलाउनुपर्ने बताए। उनले सेप्टिक ट्याङ्क बनाउने कार्यलाई उपत्यकामा अभियानकै रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए।  

“उपत्यकामा बग्ने नदीहरुलाई स्वच्छ बनाउनुपर्‍यो। त्यसका लागि अहिले जुन दुर्गन्ध छ त्यसलाई हटाउन हामीले सेप्टिक ट्याङ्की बनाउने अभियानमा लाग्नैपर्छ। अब नयाँ बन्ने ठाउँमा सेप्टिक ट्याङ्क हरेक घरमा बनाउनुपर्‍यो।  जहाँजहाँ घर बनिसके, ठाउँ छैन भने १०/१५ घरको एक ठाउँमा भए पनि सेप्टिक ट्याङ्की बनाउनुपर्छ,” उपप्रधानमन्त्री सिंहले भने, “उपत्यकामा जमिनमुनि पानीको तह घटिरहेको छ। त्यसलाई बढाउन ग्राउन्ड वाटर हार्भेस्टिङ र सेप्टिक ट्याङ्कको अभियान नै चलाउनैपर्छ नत्र नदी स्वच्छ हुँदैन, दुर्गन्ध हट्दैन।” 

उनले उपत्यकालाई स्वच्छ, सफा र स्वस्थ राख्न तीनै तहका सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिए।  

उपप्रधानमन्त्री सिंहले आफूले शहरी विकास मन्त्रालय सम्हालेदेखि नै बाग्मती र धोबीखोलामा अर्बौं रुपैयाँ खर्च भए पनि योजना बनाउँदा किन कमजोरी भयो भनेर प्रश्न उठाइरहेको र त्यसलाई सच्याउँदै सीधै ढल मिसाउन नदिन आवश्यक काम अघि बढाएको दावी गरे। 

छलफलमा उपत्यकाका विभिन्न पालिकाका प्रमुख र उपप्रमुखहरुले फोहोरमैला व्यवस्थापन, नदीको स्वच्छता र सफाइ, शहरी पूर्वाधारको विकासमा आउने बजेटमा सम्बोधन गर्नुपर्ने सुझाव दिए। 

उपप्रधानमन्त्री सिंहले उपत्यकालाई सुन्दर र बस्नयोग्य बनाउन पालिकाले गर्न सक्ने कामबारे कार्ययोजना पेश गर्न आग्रह गर्दै पालिकाबाट आएका सुझाव समेटेर बजेटमार्फत सम्बोधन गरी अघि बढ्ने बताए।