News Desk
काठमाडौ, २०८१ फाल्गुण २८ – महिला अधिकार र सशक्तिकरणका नाराले चर्को स्वर निकालिरहे पनि हकीकत भने निकै भिन्न छ। विदेशमा श्रम गर्न गएका हजारौं नेपाली चेली जबरजस्ती श्रम, मानव बेचबिखन र अमानवीय हिंसाको सिकार बन्न बाध्य छन। तर, यिनै पीडित महिलाहरूलाई उद्धार गर्दै, उनीहरूको सुरक्षित पुनर्वासका लागि समर्पित एक नाम हो, दिपेन्द्र उप्रेती।
श्रमिक आप्रवासन र मानव अधिकार क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि संघर्षरत उप्रेती हालसम्म १४ हजार भन्दा बढी महिला घरेलु कामदारहरू को सकुशल उद्धार गरिसक्नुभएको छ। विदेशी नियोगसमेतले उहाँको सहयोग लिने गरेका छन। यही विषयमा आधारित रहेर सचेतना श्रृंखलामा विशेष अन्तर्वार्ता आयोजना गरिएको छ, जसमा उहाँले आफ्ना संघर्ष, चुनौती र उपलब्धिबारे खुलासा गर्नुभएको छ।
बाल्यकालदेखि मानव अधिकारको अग्रसर यात्रा
सन १९८० मा झापाको गौरादहमा जन्मिनुभएका दिपेन्द्र उप्रेती १८ वर्षको उमेरमा लेबनान रोजगारीका लागि गएका थिए। तर, त्यहाँ पुगेर उहाँले आप्रवासी श्रमिकहरूको वास्तविकता देख्नुभयो – अत्यधिक शोषण, जबरजस्ती श्रम, भेदभावपूर्ण कफाला प्रणाली, र दासत्व जीवन। यही पीडाले उहाँलाई मानवअधिकारकर्मी बनायो।
इराक घटनाले बदल्यो जीवनको दिशा
सन २००४ मा इराकमा १२ जना नेपाली कामदारको विभत्स हत्या भएपछि, बाँकी २४ जना नेपाली बन्धकको उद्धार कार्यमा उप्रेतीले महत्वपूर्ण भूमिका खेल्नुभयो। उहाँको समन्वयात्मक प्रयासले उनीहरूलाई सुरक्षितरूपमा नेपाल फर्काउन सहयोग पुर्यायो। त्यसपछि, उहाँले बेरुतस्थित अवैतनिक महावाणिज्य दूतावासको प्रतिनिधिका रूपमा नेपाली श्रमिकहरूको उद्धार, कानुनी सहायता र पुनर्वास कार्यमा आफूलाई समर्पित गर्नुभयो।
विदेशी भूमिमा कठिन संघर्ष, क्यानडाबाट अभियानको निरन्तरता
लेबनानमा आप्रवासी श्रमिकहरूको पक्षमा सक्रिय रहँदा उप्रेतीमाथि विभिन्न दबाब सिर्जना भए। परिस्थितिजन्य बाध्यताले उहाँले श्रीमती प्रिया सुवेदीसँगै क्यानडा प्रस्थान गर्नुभयो। तर, मानवअधिकारका लागि समर्पण कहिल्यै रोकिएन।
उहाँले क्यानडाबाट ‘दिस इस लेबनन्’ नामक संस्था स्थापना गरी, लेबनान तथा मध्यपूर्वका अन्य देशहरूमा घरेलु महिला श्रमिकहरूको उद्धार तथा कानुनी सहयोग प्रदान गर्दै आउनुभएको छ।
२१ वर्ष बन्धक परेकी फिलिपिनी महिलादेखि हजारौं उद्धार
उहाँको नेतृत्वमा नेपाल, फिलिपिन्स, इथियोपिया, नाइजेरिया, बङ्गलादेश, श्रीलंका, घाना, उगाण्डा लगायतका देशका घरेलु महिला श्रमिकहरूको उद्धार गरिएको छ। २१ वर्षसम्म बन्धक परेकी फिलिपिनी महिलाको उद्धार कार्य उहाँको एक ऐतिहासिक उपलब्धि मानिन्छ।
कूटनीतिक सफलता र अन्तर्राष्ट्रिय सम्मान
मानवअधिकार र आप्रवासी श्रमिकको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरू द्वारा उहाँलाई कदर गरिएको छ। ‘दिस इस लेबनन्’ अभियानले कफाला प्रणालीअन्तर्गत शोषित कामदारहरूको आवाज विश्वभर फैलाइरहेको छ।
सशक्त मानवअधिकार योद्धाको रूपमा पहिचान
हाल पनि दिपेन्द्र उप्रेती आप्रवासी श्रमिकहरूको जीवन रक्षा र अधिकार प्रवर्द्धनमा निरन्तर सक्रिय रहनुभएको छ। नेपाल सरकार, अन्तर्राष्ट्रिय संस्था, मानवअधिकारकर्मी तथा प्रवासी समुदायलाई उहाँको योगदानबाट पाठ सिक्न आवश्यक छ।
(दिपेन्द्र उप्रेतीसँगको विशेष अन्तर्वार्ता हेर्न नबिर्सनुहोस। सचेतना श्रृंखलामा उहाँले आप्रवासी श्रमिक अधिकार र उद्धार अभियानबारे विस्तृत चर्चा गर्नुभएको छ।)