क्याम्पस प्रशासनको त्रुटिले पब्लिक युथ क्याम्पसमा बिद्यार्थीहरु मतदानबाट बन्चित
News Desk
Mar-18 , 2025 तारिख 01:19 बिहान

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई मिनी संसदको रूपमा हेरिन्छ, र हाल देशभरि चुनावी सरगर्मी बढिरहेको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा चैत्र ५ गते निर्वाचन हुने तय भएको छ, र ती क्याम्पसहरू अहिले मतदानका लागि अन्तिम तयारीमा जुटेका छन्। तर, काठमाडौं उपत्यकाका केही प्रमुख क्याम्पसहरूमा भने निर्वाचन प्रक्रिया प्रभावित भएको देखिन्छ।

आङ्गिक क्याम्पसमध्ये पब्लिक युथ क्याम्पस, धोबीचौरमा पनि स्ववियु निर्वाचन रोकिएको छ। मतदाता नामावलीको विषयलाई लिएर अखिल क्रान्तिकारीले फागुन २७ गते तालाबन्दी गरेको थियो। उक्त मागलाई अध्ययन गरेर क्याम्पस प्रशासन र निर्वाचन समितिले विवादित विद्यार्थीहरूको नाम मतदाता सूचीबाट हटाएको थियो।

यसपछि, हटाइएका विद्यार्थीहरूको मतदान सुनिश्चितताका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) पब्लिक युथ क्याम्पसले ती विद्यार्थीहरूले पनि मतदान गर्न पाउनुपर्छ भन्दै उनीहरूको पक्षमा आवाज उठाउँदै तालाबन्दी गरेको छ। नेविसंघले भर्ना भइसकेका विद्यार्थीहरूको नामावली र मतदान गर्ने अधिकार एउटै हुनुपर्ने अडान राखेको छ। यसै विषयलाई लिएर अनेरास्ववियुले गलत प्रचार गरिरहेको र ती छ जना विद्यार्थीहरूको नाम जोडेर क्याम्पस प्रशासन, निर्वाचन समिति र नेविसंघलाई लाञ्छना लगाएको नेविसंघका एक नेताले बताएका छन्। उनका अनुसार, हटाइएका विद्यार्थीहरूको नाम समावेश गराएमा आफूहरू निर्वाचनमा जाने बताएका छन्। कुल जम्मा मतदातामध्ये एकजनाको पनि नाम छुट्नु भनेको विद्यार्थीहरूको मताधिकारबाट वञ्चित गराउनु हो भन्दै आफूहरूले विद्यार्थीको माग उठाएको जनाएका छन्।

यसरी, पब्लिक युथ क्याम्पसमा क्याम्पस प्रशासनको त्रुटिका कारण विद्यार्थीहरू मतदानबाट वञ्चित हुने अवस्था सिर्जना भएको छ, जसले स्ववियु निर्वाचन प्रक्रिया प्रभावित बनाएको छ।