News Desk
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालयका लागि डा. वाग्लेलाई उपकुलपतिका रूपमा नियुक्त गरेका छन्। उनलाई काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ को दफा १३(४) अनुसार सोमबार उपकुलपतिमा नियुक्त गरिएको हो।
उपकुलपतिका लागि सिफारिस गर्न सरकारद्वारा तीन सदस्यीय खोज समिति गठन गरिएको थियो।
वि.सं. २०२५ मा काभ्रेपलाञ्चोक जिल्लामा जन्मिएका प्रोफेसर डा. वाग्ले यसअघि काठमाडौँ विश्वविद्यालयका कार्यवाहक उपकुलपति तथा रजिष्ट्रारको रूपमा कार्यरत थिए।
त्यसअघि उनले काठमाडौँ विश्वविद्यालयको व्यवस्थापन संकायमा सहायक डिन तथा अतिथि प्राध्यापकको रूपमा काम गरेका थिए।
भारतको इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) बाट अर्थशास्त्रमा विद्यावारिधि (PhD) गरेका डा. वाग्लेले त्रिभुवन विश्वविद्यालय, नेपालबाट स्नातकोत्तर (MA) तथा बेलायतको बर्मिङ्घम विश्वविद्यालयबाट MSc गरेका छन्।
राष्ट्रिय सञ्चारमाध्यममा स्तम्भकारका रूपमा सक्रिय रहेका डा. वाग्ले विगतमा प्रधानमन्त्रीका सल्लाहकार तथा नेपाल राष्ट्र बैंकका सल्लाहकारको रूपमा समेत कार्यरत थिए।
व्यापार, वातावरण, क्षेत्रीय अर्थतन्त्र, वित्तीय संघीयता र उद्यमशीलताजस्ता क्षेत्रमा डा. वाग्लेलाई व्यापक अनुभव रहेको छ।