News Desk
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन्। उनले १,१०२ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी, माओवादी निकट विद्यार्थी संगठनका उम्मेदवार रसिक लम्सालले ७१० मत ल्याए। श्रेष्ठ स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत छन्।
सचिव पदमा अखिल क्रान्तिकारीका दिवस सापकोटाले १,०६४ मत ल्याएर विजयी भए भने कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकालले १,०४२ मत प्राप्त गरी निर्वाचित भए। पुल्चोक क्याम्पसमा ३,८०७ जना मतदाता थिए।
यसअघि, २०७९ सालमा सम्पन्न निर्वाचनमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका विराज अर्याल सभापतिमा निर्वाचित भएका थिए।
यसैगरी, काठमाडौंको थापाथली इन्जिनियरिङ कलेजको स्ववियु अध्यक्षमा नेविसंघका प्रह्लाद खड्का निर्वाचित भएका छन्। मंगलबार सम्पन्न निर्वाचनमा खड्का अध्यक्षमा निर्वाचित भएका हुन्। विद्युतीय भोटिङ मेसिनमार्फत मतदान भएको थियो, जसमा १,७०७ विद्यार्थीले मतदान गरेका थिए। स्ववियुको सचिवमा अखिल क्रान्तिकारीका जेसिस उपाध्याय र कोषाध्यक्षमा नेविसंघका ऋषिकेश प्रजापति निर्वाचित भएका छन्।