ग्यास प्रयोगमा लापरबाही बढ्दो, काठमाडौं महानगरको निरीक्षण अभियान
News Desk
Mar-20 , 2025 तारिख 12:43 बेलुका

काठमाडौं — खाना पकाउन ग्यास प्रयोग गर्ने उपभोक्ताहरूले बजारबाट ग्यास सिलिन्डर किनेर रेगुलेटर र पाइप जोडिसकेपछि कुनै समस्या हुँदैन भन्ने विश्वास राख्ने गरेको देखिएको छ। तर, उचित सुरक्षा मापदण्ड नअपनाउँदा गम्भीर दुर्घटना हुने जोखिम रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ।

काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभाग र महानगर प्रहरी बलले संयुक्त रूपमा विभिन्न स्थानमा ग्यास सिलिन्डरको प्रयोगबारे निरीक्षण गर्दा धेरै उपभोक्ताहरूले सुरक्षा सचेतना नअपनाएको पाइएको हो। हालसम्म महानगरपालिकाले ५६ वटा पसलको निरीक्षण गरिसकेको छ, जसको उद्देश्य उपभोक्तामा सचेतना अभिवृद्धि गराउनु रहेको छ।

ग्यास सिलिन्डरको सुरक्षामा उपभोक्ताको भूमिका महत्वपूर्ण

महानगरका अनुसार घरमा खाना पकाउन प्रयोग गरिने ग्यास एलपिजी (लिक्विफाइड पेट्रोलियम ग्यास) हो। यो अत्यन्त प्रज्वलनशील पदार्थ भएकाले सावधानी नअपनाउँदा आगलागी र विस्फोट जस्ता दुर्घटना हुन सक्छन्।

यस्ता दुर्घटनाबाट बच्न ग्यास उत्पादक, सिलिन्डर उत्पादक, सिल उत्पादक, ग्यास भर्ने उद्योग, ढुवानी गर्ने सवारीसाधन, गुणस्तर जाँच गर्ने अधिकारी, वितरक, डिलर, बिक्रेता र उपभोक्ताहरूको आ-आफ्नो जिम्मेवारी रहने महानगरपालिकाले जनाएको छ। ग्यास चुलो, चुलोसँग जोडिने पाइप, पाइपमा जडान गरिने रेगुलेटर उत्पादक तथा बिक्रेताको भूमिका पनि महत्त्वपूर्ण हुन्छ।

नियम तथा सुरक्षा मापदण्डहरू

एलपिजी ग्यास ढुवानी तथा उपभोगलाई सुरक्षित बनाउन सरकारले विभिन्न नियमावली जारी गरिसकेको छ।

  • एलपिजी ग्यास ढुवानी नियमावली २०७३ अनुसार ग्यास ढुवानी तथा व्यवस्थापनलाई नियमन गरिन्छ।
  • एलपिजी ग्यास नियमावली २०६५ अनुसार घरेलु प्रयोजनका लागि १४.२ किलोग्राम तौल भएको रातो सिलिन्डरबाहेक अन्य सिलिन्डरमा ग्यास बिक्री गर्न नपाइने प्रावधान छ।
  • ग्यास सिलिन्डरमा उत्पादक उद्योगको नाम, लोगो, सिरियल नम्बर, निरीक्षकको टाँचा, हाइड्रोलिक परीक्षण मिति, वर्किङ प्रेसर, खाली सिलिन्डरको तौल, र पुनः जाँच गर्नुपर्ने मिति उल्लेख हुनुपर्छ।
  • सिलिन्डरको पिँध (फुट रिङ) र घाँटी (नेक रिङ) काटेर जोडिएको भए त्यस्तो सिलिन्डरमा ग्यास भर्न नपाइने व्यवस्था छ।
  • ग्यास सिलिन्डरमा जडान गरिने भल्भ पनि प्रमाणित कम्पनीबाट उत्पादित हुनुपर्ने र त्यसमा निर्माताको नाम, लोगो वा कोड नम्बर तथा निर्माण मिति स्पष्ट उल्लेख हुनुपर्ने प्रावधान छ।

ग्यास सुरक्षाका लागि निरीक्षणमा समेटिएका मापदण्डहरू

महानगरपालिकाले ग्यास प्रयोग तथा भण्डारणको सुरक्षा सुनिश्चित गर्न ८ वटा सूचक र २४ वटा उपसूचकका आधारमा निरीक्षण गरेको जनाएको छ।

निरीक्षणमा हेर्ने प्रमुख कुराहरू:

  • आगलागी भएमा निभाउने फायर एक्स्टिङ्ग्विसरको उपलब्धता
  • कर्मचारीले फायर एक्स्टिङ्ग्विसर चलाउने तालिम पाएको वा नपाएको
  • कार्यस्थलमा आपतकालीन ढोका वा मार्गको व्यवस्था
  • पर्याप्त हावा आउन-जाने अवस्था
  • काम गर्दा लगाउने सुरक्षा सामग्री वा पोशाक
  • भान्छामा ग्यास नियन्त्रण गर्ने प्रविधि
  • दबाब नाप्ने र स्वचालित रूपमा ग्यास आपूर्ति रोक्ने प्रणाली
  • ग्यास चुहिएको थाहा पाउने प्रविधि र त्यसको प्रयोग
  • ग्यास जडान गर्दा अपनाउनुपर्ने सुरक्षा विधिहरू
  • ग्यासको सुरक्षित भण्डारणका उपायहरू

महानगरपालिकाले उपभोक्तालाई ग्यास प्रयोग गर्दा सतर्कता अपनाउन आग्रह गर्दै सुरक्षाका उपायहरू कडाइका साथ पालना गर्न अनुरोध गरेको छ।