प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबलका साथ माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सामेल हुन विद्यार्थीहरुलाई आग्रह
News Desk
Mar-20 , 2025 तारिख 12:13 बेलुका

प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबलका साथ माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सामेल हुन विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले बुधबार साँझ भिडियो सन्देश जारी गरी एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई धैर्यका साथ परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गर्नुभएकोहो । “विद्यार्थी भाइबहिनीहरू यही चैत ७ गतेदेखि एसइईको परीक्षा सुरू हुँदैछ । तपाईंहरू त्यसैको तयारीमा जुट्नु भएको छ”, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “त्यसकारण तपाईंहरूसँग खेर फाल्ने समय छैन ।

राम्रो अङ्क प्राप्त गरेर सफलतापूर्वक उत्र्तीण हुनुहोस् । मेरो धेरै धेरै शुभकामना छ ।” प्रधानमन्त्रीले विद्यार्थीलाई अनिँदो, थकित अवस्थामा राम्रो परीक्षा दिन गार्‍हो हुने भएकाले त्यसबाट जोगिनसमेत आग्रह गर्नुभएको छ । उहाँले विद्यार्थीले धेरै परीक्षा उत्र्तीण गरेर यहाँ आइसकेको भन्दै परीक्षासँग नतर्सिनु पनि आग्रह गर्नुभएको छ । “पहिले पहिले एसएसलीलाई फलामे ढोका भन्थ्ये । त्यो शब्दले पनि विद्यार्थीमा अलिकति त्रास पैदा हुन्थ्यो ।

तपाईंहरू परीक्षासँग नतर्सिनुहोस्,” प्रधानमन्त्रीले भन्नुभएको छ, “परीक्षा जीवनका कदमकदम मोडमोडमा आइरहने चीज हो । धेरै परीक्षा उतीर्ण गरेर तपाईहरू यहाँ आइसक्नुभएको छ ।” प्रधानमन्त्री ओलीले अघिल्ला वर्ष एसइईको नतिजा त्यति राम्रो नभएको भन्दै यसपटक आफूले विद्यार्थीसँग राम्रो नतिजाको अपेक्षा गरेको समेत बताउनुभएको छ ।