News Desk
Opinion
-प्रल्हाद दाहाल
बालकक्षा देखि पढ्दै गर्दा विद्यालयमा धेरै पटक परीक्षा दिइरहेका विद्यार्थीहरुले कक्षा आठमा एक पटक पालिका स्थरिए परीक्षा अनि कक्षा दशको अन्तिम परिक्षा केन्द्रिय स्थरबाट दिनुपर्ने हुन्छ । कक्षा दशको अन्तिम परीक्षालाई चाँहि एसईई परीक्षा जसलाई फलामे ढोका पनि भन्ने गरिन्छ । खासमा परीक्षालाई त्यति धेरै हाउबुझि बनाउनु हुँदैनथ्यो । तर विभिन्न नाममा विभिन्न तरिकाले जान अनजान तरिकाले हाउबुझि नै भएको देखिन्छ । अरु परीक्षालाई खासै महत्त्व नदिए पनि एसईई परीक्षालाई भने घरदेखि विद्यालय, नातागोता सबैले नै चासो दिइएको देखिन्छ । त्यसैले गर्दा पनि बालबालिकामा मनोबैज्ञानिक तवरले अलि बढि नै डर त्रास भएको पाइन्छ । एक हिसाबले त यसरी महत्त्व दिइरहँदा विद्यार्थीलाई पढ्नमा अलि बढी ध्यान जान्छ कि भन्ने हो । नत्र भने यसरी अनावश्यक बढी महत्त्व दिइरहनु कुनै आवश्यक छैन ।
यस वर्ष २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत्र सात गतेदेखि मुलुकभरि सुरु भएकोछ । एसईई परीक्षा फलामे ढोका हो भन्ने मानसिकता अहिले पनि उत्तिकै छ । यो पार गरिसकेपछि विद्यार्थीहरूका लागि अवसरको ढोका खुल्छ र जिवनको अर्को पाटो सुरु हुन्छ भन्ने बुझाई छ । कक्षा दशसम्म दिउसभर पढाई हुने र अब यसपछि भने बिहान पढ्दा पनि हुने हुँदा अन्य काम गर्न वा कुनै सिप सिक्न पनि अवसर प्राप्त हुन्छ । तसर्थ सवै परीक्षार्थीमा आजको दिन उल्लासको दिन हो । मिहिनेती विद्यार्थीका लागि यो अबसर पनि हो । तर जसले राम्रो मिहिनेत गर्दैनन् तिनका लागि जहाँ जेसुकै अवसर आए पनि केहि हुँदैन ।
एसएलसीको परिवर्तित स्वरूपका रूपमा एसईई परीक्षा विगत केही वर्षदेखि राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गर्दै आएको छ । विगतमा पनि यसरी नै एसएलसी परीक्षालाई उच्च शिक्षाको फलामे ढोकाको रूपमा चिनिने गरिन्थ्यो । अहिले पनि त्यसैको सिको कायमै छ । यहि परीक्षाको नतिजाले बाँकी जिवन कता जान्छ भन्ने कुराको निश्चित गर्दछ । यस कारणले पनि एसईई परीक्षा प्रति देशभरिका लाखौँ परीक्षार्थी तथा उनीहरूका अभिभावकको भविष्य जोडिएको छ भन्दा अन्यथा हुँदैन । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा अघिल्लो वर्षको तुलनामा ४९ हजार दुई सय ८६ जना बढी अर्थात पाँच लाख १४ हजार ७१ जना सहभागी हुँदैछन् भन्ने कुराको जानकारी परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यस वर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको जानकारी छ । परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएको कुराको जानकारी भएको छ । यस वर्ष २०८१ को एसईई परीक्षा चैत ७ गतेबाट शुरू भई चैत्र १९ गते सकिनेछ । देशैभर एक साथ एसईई परीक्षा सुरु भएको छ । एसईईको गुणस्तर राम्रो अवस्थामा कायम हुँदा मात्र भविष्यका नागरिक र अन्य पेशामा रहने सबै सक्षम हुनेछन् । शिक्षाको गुणस्तर खस्कनु भनेको राष्ट्रको भविष्य प्रति गम्भीर नहुनु हो । कक्षा दशको अन्तिम परीक्षा अर्थात् एसईई परीक्षाले आम विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि नयाँ ढोका खुल्नुको साथै महत्वपूर्ण आयामका रूपमा रहँदै आएको छ । यसैबाट विद्यार्थीहरूले आफ्नो भविष्यका लागि कुन प्रकारको शिक्षा ग्रहण गर्ने? कता जाने ? के गर्ने ? भन्ने उपयुक्त निर्णय गर्न सक्षम हुन्छन् ।
यस अर्थमा मुलुकको एसईई समग्र विकासमा सघाउ पु¥याउने दिशा तय गर्ने शैक्षिक माध्यमका रूपमा पनि लिन सकिन्छ । तसर्थ परिक्षार्थीले कुनै भय र डरत्रास नमानी परीक्षामा सहभागी भएर असल र योग्य जनशक्ति निर्माणको ढोका खोल्नेतर्फ अव अग्रसर हुनु जरुरी छ । एसईईलाई परीक्षार्थीले हाउगुजीका रूपमा होइन, सहजताका रूपमा बुझ्न र लिनु जरुरी छ । विद्यार्थीमा डर त्रास नदेखाई आत्मविश्वास बढाउनु जरुरी छ । एसईईलाई ठूलो बिषय बनाउने गरिएको छ तर एसईई परीक्षा मात्र हो र पास गर्न सकिन्छ भन्ने दृढता विद्यार्थीमा गराउनुपर्छ । परीक्षाका अवधिमा राम्रो पढ्नु, खानपान र दिनचर्यामा विशेष ध्यान दिनु जरुरी हुन्छ । परीक्षा नियन्त्रण कार्यालयले भने जस्तै भयभित भएर होइन सौहार्दरूपमा परीक्षा दिन आम अभिभावक, विद्यार्थी, शिक्षक शिक्षिकाले विद्यार्थीहरु माझ वातावरण बनाउनुपर्छ । आम रुपमा सबैले अनावश्यक रुपमा आत्तिने र परीक्षालाई ठूलो नसम्झी परीक्षामा विद्यार्थीहरूले संयमता अपनाउनु पर्छ।
परीक्षालाई स्वाभाविक र सधैं विद्यालयमा दिए झैँ नियमित प्रकृया हो भन्ने ठान्दै परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई वातावरण बनाउनु पर्छ । यो विषयमा अव आम अभिभावक र स्कुल परिवारले ध्यान दिनु जरुरी छ । परीक्षालाई सकारात्मक प्रभावको रूपमा ग्रहण गर्ने हो भने विद्यार्थीमा आत्मविश्वास जगाउँछ । त्यसबाट बढी सफलता हासिल गर्न सकिन्छ । परीक्षा भनेको तनाव होइन, वर्षभरि पढेका कुरालाई परीक्षाका माध्यमबाट प्रस्तुत गर्ने भन्ने कुरा विद्यालय र अभिभावकले विद्यार्थीलाई सम्झाउन जरुरी छ । परीक्षार्थीहरूले ध्यान दिनुपर्ने कुरा के हो भने बिना तनाव, कुनैपनि डर नराखेर परीक्षामा सहभागी हुनुपर्दछ । भोलीको उच्च शिक्षा अध्ययनको अवसरको रूपमा यसलाई सहजतासाथ स्वीकार गर्न सक्नुपर्दछ । मेहनत गरे सफलता टाढा छैन भन्ने आत्मविश्वासका साथ परीक्षार्थीहरू निर्धक्क हुनुपर्दछ । यसमा सरकारी निकायले पनि ध्यान दिन आवश्यक छ । अनावश्यक रुपमा डर त्रास सृजना हुने गरि सुरक्षागार्ड राख्ने, अनावश्यक रुपमा निरीक्षण भन्दै परीक्षा हलमा पस्ने, गेटदेखि नै एकदम ठूलो केहि हुँदै छ भन्ने बनाउनाले पनि परीक्षामा विद्यार्थीहरुलाई थप मानसिक तनाव हुने गरेको छ । परीक्षालाई सरल र भय रहित बनाउनुपर्छ ।