News Desk
काभ्रेपलाञ्चोक जिल्लामा पर्ने धुलिखेल–खावा सडकखण्डको निर्माण कार्य समयमा सम्पन्न नभएको भन्दै स्थानीयहरूले बिहीबार दिउँसो १ बजेबाट अरनिको राजमार्ग अवरुद्ध गरेका छन। निर्माण कार्यमा भएको ढिलाइका कारण स्थानीय बासिन्दा र यात्रुहरूले दुई वर्षदेखि सास्ती भोग्दै आएका छन।
सडक डिभिजन कार्यालय भक्तपुरले उक्त सडकखण्डको ठेक्का रद्द गरेको छ। गौरी पार्वती निर्माण सेवा प्रालिले २०७९ जेठ २० गते २० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँमा ठेक्का लिएको थियो, जसअनुसार २०७९ चैत १९ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो। तर, ११ महिना बढी समय बितिसक्दा पनि निर्माण कार्य सम्पन्न नभएपछि ठेक्का रद्द गरिएको हो।
निर्माण कार्यमा भएको ढिलाइका कारण सडक जीर्ण बनेको छ, जसले गर्दा सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ। यसले गर्दा यात्रुहरूलाई सास्ती भोग्नुपरेको छ भने दुर्घटनाको सम्भावना पनि बढेको छ। सडक डिभिजन कार्यालयले पुनः ठेक्का प्रक्रिया अघि बढाउने तयारी गरेको छ।