News Desk
देशका विभिन्न दुर्गम जिल्लामा परीक्षा केन्द्र टाढा पर्ने समस्या विद्यार्थीहरूले भोग्दै आएका छन। बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका माध्यमिक विद्यालयबाट एसईई दिने १७४ विद्यार्थीको परीक्षा केन्द्र २ घण्टा टाढा पर्ने गरी सत्यवादी माध्यमिक विद्यालय, भौनेरामा तोकिएको छ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार ५० विद्यार्थी संख्या पुगेका विद्यालयमा मात्र परीक्षा केन्द्र तोकिने नियम छ। पहाडी क्षेत्रमा २५० र तराईका जिल्लामा ३०० विद्यार्थी संख्या अनिवार्य गर्नुपर्ने भएकाले दुर्गम र हिमाली भेगका विद्यार्थीहरूलाई परीक्षा दिनका लागि लामो दुरी यात्रा गर्नुपर्ने बाध्यता छ।
एसईई परीक्षा अझै पुरानै शैलीमा
सरकारले विद्यालय तहको संरचना परिवर्तन गरी कक्षा ११ र १२ लाई माध्यमिक शिक्षामा राखिसकेको छ। शिक्षा ऐन २०२८ को आठौँ संशोधन अनुसार कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक तह मानिएको छ। तर, त्यसरी नै माध्यमिक तहका अन्य कक्षाजस्तै कक्षा १० को परीक्षा विद्यालयस्तरमा सञ्चालन गर्नुपर्नेमा एसईईलाई भने अझै पनि राष्ट्रिय तहको ठूलो परीक्षाका रूपमा लीँदै आएको छ।
यस वर्ष मात्र एसईई सञ्चालनका लागि ७७,८१७ जनशक्ति परिचालन गरिएको छ। परीक्षा फारम भर्न विद्यार्थीहरूबाट शुल्क उठाउने, परीक्षा केन्द्र तोक्ने, सुरक्षा व्यवस्था मिलाउने लगायतका कार्यहरू प्रदेश सरकारको जिम्मेवारी हुनुपर्नेमा अझै पनि संघीय सरकारले नै पुरानै शैलीमा परीक्षा सञ्चालन गर्दै आएको छ।
विद्यार्थी, अभिभावक तथा शिक्षाविद्हरूले एसईई परीक्षालाई आवश्यकता भन्दा बढी तामझामका साथ सञ्चालन गरिएकाले यसले विद्यार्थीहरूमा मानसिक तनाव सिर्जना गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन।
एसईई परीक्षा दिन गएका विद्यार्थीको नदीमा डुबेर मृत्यु
दोलखा जिल्लाको विगु गाउँपालिका–२, ओराङका १७ वर्षीय प्रवीण तामाङको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन गएका बेला तामाकोसी नदीमा डुबेर मृत्यु भएको छ। उनी ओराङस्थित देउलाङ्गेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी थिए, भने उनको परीक्षा केन्द्र विगु–१ स्थित गौरीशंकर माध्यमिक विद्यालयमा तोकिएको थियो।
घरबाट परीक्षा केन्द्र टाढा भएका कारण प्रवीणका परिवारले उनलाई परीक्षा केन्द्रनजिकै कोठा भाडामा लिएर राखेका थिए। एसईईको पहिलो दिन, चैत ७ गते उनले अंग्रेजी विषयको परीक्षा दिएका थिए। परीक्षा सकेर साथीहरूसँग कोठातर्फ जाँदै गर्दा गर्मी महसुस भएपछि उनीहरू तामाकोसी नदीमा पौडी खेल्न गएका थिए। खेल्दाखेल्दै प्रवीण नदीको गहिराइमा पुगेपछि डुबेर बेपत्ता भए। खोजीकार्यपछि उनको शव फेला परेको थियो।