सत्य निरूपण आयोगका पदाधिकारी नियुक्तिका लागि सर्च कमिटी गठन हुने
News Desk
Mar-25 , 2025 तारिख 01:01 बेलुका

काठमाडौं – सत्य निरूपण तथा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका पदाधिकारी नियुक्तिको प्रक्रिया अगाडि बढाउन तीन प्रमुख दलका नेताहरूबीच नयाँ सर्च कमिटी गठन गर्ने सहमति जुटेको छ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रमेश लेखक सहभागी थिए। बैठकपछि प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनका लागि सर्च कमिटी बनाउने सहमति भएको जानकारी दिए।

उनका अनुसार ‘बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१’ को दफा ३(३) अनुसार आयोगका अध्यक्ष र सदस्यहरूको नियुक्तिका लागि सिफारिस समिति गठन गर्न सहमति भएको हो।

प्रधानमन्त्री ओलीले यस विषयमा कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरूसँग परामर्श गरेका थिए। परामर्शपछि सिफारिस समिति गठन प्रक्रिया अघि बढाउने सहमति भएको खरेलले जानकारी दिए।