इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरण: आत्महत्या दुरुत्साहनको आरोपमा दुई जना पुर्पक्षका लागि थुनामा
News Desk
Mar-25 , 2025 तारिख 07:53 बिहान

१२ चैत, पोखरा । सशस्त्र प्रहरी बलमा कार्यरत इन्स्पेक्टर सन्तोषी महतको शंकास्पद मृत्यु प्रकरणमा आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा दुई जना पुर्पक्षका लागि थुनामा पुगेका छन्।

तनहुँको भानुस्थित सशस्त्र प्रहरी नम्बर–२३ मनकामना गणमा कार्यरत इन्स्पेक्टर विवेक जोशी र पोखराको लामापाटनस्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत हबल्दार रेशमबहादुर शाहीलाई अदालतले थुनामा पठाउने आदेश दिएको हो। सोमबार कास्की जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले दुवै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो।

इन्स्पेक्टर महत फागुन १० गते लामापाटनस्थित तालिम शिक्षालयमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। उनको मृत्यु शंकास्पद भएको भन्दै उनका भाइ विनोदले फागुन ११ गते नै किटानी जाहेरी दिएका थिए। जाहेरीपछि अनुसन्धान अघि बढाउँदै इन्स्पेक्टर जोशीलाई पक्राउ गरिएको थियो। अनुसन्धानकै क्रममा चैत ६ गते हबल्दार शाहीलाई पनि नियन्त्रणमा लिइएको थियो।

प्रेम सम्बन्ध र परिवारको आरोप

महत र जोशीबीच केही समयदेखि प्रेम सम्बन्ध रहेको कुरा परिवारले पुष्टि गरेको छ। परिवारका अनुसार महतको विवाह उनले रोजेको केटासँग गरिदिने सल्लाह भएको थियो। तर, उनी कार्यरत स्थानमै मृत भेटिएपछि परिवारले जोशीविरुद्ध आत्महत्या गर्न बाध्य पारेको आरोप लगाएको थियो।

‘जाहेरी दर्ता भएसँगै हामीले इन्स्पेक्टर जोशीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्‍यौं। अनुसन्धानकै क्रममा लामापाटनमै कार्यरत हबल्दार रेशमबहादुर शाहीको समेत संलग्नता देखिएकाले उनलाई पनि पक्राउ गरिएको हो,’ कास्की प्रहरी प्रमुख एसपी श्यामनाथ ओलियाले बताए।

मुलुकी अपराध संहिताको दफा १८५ अनुसार आत्महत्या गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ। यही आधारमा सरकारी वकिलको कार्यालयले चैत ९ गते अभियोगपत्र दर्ता गराएको थियो।

अदालतको आदेश र अनुसन्धानका आधार

न्यायाधीश भोलानाथ ढकालको इजलासले आत्महत्या दुरुत्साहन प्रकरणमा जोशी र शाही संलग्न रहेको ठहर गर्दै उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। आदेशमा, उनीहरू निर्दोष रहेको पुष्टि नभएकाले प्रहरी संगठनमा पनि सकारात्मक प्रभाव पार्ने गरी थुनामा पठाइनुपर्ने उल्लेख छ।

प्रहरी स्रोतका अनुसार, महत र जोशीबीचको सम्बन्ध तथा घटनाका कारण पत्ता लगाउन मोबाइल डेटा समेत अनुसन्धानमा संलग्न गरिएको थियो। प्राप्त प्रमाणहरूका आधारमा उनीहरूको सम्बन्धमा दरार आएको र सोही तनावका कारण महतलाई आत्महत्या गर्न बाध्य बनाइएको ठहर गरिएको छ।

इन्स्पेक्टर महतको करियर र पारिवारिक अवस्था

सन्तोषी महत पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ८ लाँगर्चेकी हुन्। उनले २०७२ सालमा सशस्त्र प्रहरी सिपाहीमा भर्ती भई, २०७८ सालमा असईमा पदोन्नति पाएकी थिइन्। उत्कृष्ट कार्यसम्पादनकै कारण हालै मात्र इन्स्पेक्टरमा बढुवा भएकी थिइन् र पोखरामा तालिम लिइरहेकी थिइन्।

उनका भाइ विनोदका अनुसार महतको इन्स्पेक्टरमा पदोन्नति भएपछि परिवार अत्यन्त खुसी थियो। परिवारले महतको रोजाइअनुसार विवाह गरिदिने योजना बनाइरहेको थियो। तर, अचानक भएको मृत्यु घटनाले परिवारलाई ठूलो बज्रपात पुगेको उनले बताए।

सशस्त्र प्रहरी बलका १६ बेसिक ब्याचकी इन्स्पेक्टर महत र जोशीबीच प्रेम सम्बन्ध रहेको तथा पछिल्लो समय सम्बन्धमा दरार आएपछि महतलाई आत्महत्या गर्न बाध्य पारिएको परिवारको दाबी छ। अनुसन्धानका क्रममा प्रहरीले उनीहरूको मोबाइल डेटा संकलन गरी प्रमाणहरूको पुष्टि गरेको छ।

धेरै पढिएको