News Desk
काठमाडौं – पछिल्लो सात वर्षमा नेपालमा कोरा जन्मदरमा उल्लेखनीय गिरावट आएको छ। २०७८ सालसम्ममा प्रत्येक १ हजार जनसंख्यामा जन्मिने शिशुको संख्या घटेर १४ मा सीमित भएको छ, जुन विगतको तुलनामा ठूलो गिरावट हो।
राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको ‘राष्ट्रिय जनगणना–२०७८’ मा आधारित प्रतिवेदन अनुसार, जन्मदर बागमती प्रदेशमा सबैभन्दा न्यून छ भने कर्णाली प्रदेशमा सबैभन्दा उच्च रहेको छ। बागमतीमा १ हजार जनसंख्यामा ११ जना मात्र शिशु जन्मिने गरेका छन भने कर्णालीमा यो संख्या १८ रहेको छ।
शहरी क्षेत्रमा तुलनात्मक रूपमा जन्मदर कम रहेको देखिएको छ भने ग्रामीण क्षेत्रमा केही बढी छ।
प्रजननदरमा पनि गिरावट
प्रतिवेदनले प्रजननदरमा समेत गिरावट देखाएको छ। २०५८ सालमा २५ देखि ३९ वर्ष उमेर समूहका १ हजार महिलाबाट ७१ जना शिशु जन्मिने गरेकोमा २०७८ मा यो संख्या घटेर ४७ मा झरेको छ।
हाल २० देखि २४ वर्ष उमेर समूहका १ हजार महिलामध्ये १४९ जनाले सन्तान जन्माउने गरेका छन्, जुन २०५८ को तुलनामा निकै कम हो। त्यो बेला सोही उमेर समूहका १ हजार महिलामध्ये २०३ जना आमा बन्थे।
किशोरावस्थामा सन्तान जन्माउने दर अझै उच्च
किशोरावस्थामै सन्तान जन्माउने महिलाको संख्या अपेक्षाकृत रूपमा उच्च रहेको प्रतिवेदनले औंल्याएको छ। यो समस्या मधेस र कर्णाली प्रदेशमा झनै गम्भीर छ।
मधेसमा १५–१९ वर्ष उमेर समूहका १ हजार किशोरीमध्ये ८।५ जनाले सन्तान जन्माउने गरेका छन।
कर्णालीमा सोही उमेर समूहका १ हजार किशोरीमध्ये ७ जनाले सन्तान जन्माउने गरेका छन।
छिटो विवाह, अशिक्षा तथा न्यून शैक्षिक स्तर यसका प्रमुख कारण भएको प्रतिवेदनले जनाएको छ।
प्रदेशगत रूपमा प्रजननदर
नेपालमा हाल औसत रूपमा १ महिलाले २।१ सन्तान जन्माउने गरेको छ। प्रदेशगत रूपमा मधेस र कर्णालीमा यो दर बढी देखिएको छ।
मधेस – २।८५
कर्णाली – २।१९
बागमती – १।३७ (न्यूनतम)
गण्डकी – १।५४
विशेषज्ञहरूका अनुसार शहरीकरण, ढिलो विवाह र बदलिँदो जीवनशैलीले जन्मदरमा गिरावट ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। विकास देवकोटाका अनुसार, ढिलो विवाह र परिवार योजना सचेतनाले प्रजनन दर घट्दै गएको छ।
आगामी ३० वर्षमा झन कमी हुने प्रक्षेपण
राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदन अनुसार, आगामी ३० वर्षमा नेपालमा प्रजननदरमा थप ३० प्रतिशतले गिरावट आउने सम्भावना छ।
२००९ सालमा प्रत्येक १ हजार जनसंख्यामा ४० देखि ५० जना शिशु जन्मिने गरेका थिए।
अबको ३० वर्षमा सन्तान जन्माउने औसत उमेर २९ वर्ष पुग्ने प्रक्षेपण गरिएको छ।
प्रजनन दरमा गिरावटको असर दीर्घकालीन रूपमा समाज, अर्थतन्त्र र कार्यशील जनसंख्यामा पर्ने विज्ञहरू बताउँछन।