News Desk
स्थानीय तह कर्मचारी युनियन नेपालले काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई चैत २५ गतेभित्र हाजिर गर्न नदिए आन्दोलन गर्ने चेतावनी दिएको छ। युनियनले विज्ञप्ति जारी गर्दै २५ चैतभित्र प्रमुख प्रशासकीय अधिकृतको विधिवत उपस्थिति सुनिश्चित गरी कार्यालय सञ्चालनकाे प्रबन्ध नभए आन्दोलन गर्ने महानगरका प्रमुख बालेन साहलाई चेतावनी दिएको हो।
युनियनले विज्ञप्तिमार्फत त्रासको वातावरण सिर्जना गरी कर्मचारीलाई मनोवैज्ञानिक दबाब दिने गरेको पनि जनाएको छ।
‘विगत केही समयदेखि कार्यालयको कामका सिलसिलामा कर्मचारीलाई केही अनधिकृत मानिसले गैरकानुनी दबाब दिने, निम्नस्तरको भाषा प्रयोग गरी कर्मचारीको मानमर्दन गर्ने’, विज्ञप्तिमा भनिएको छ, ‘त्रासको वातावरण सिर्जना गरी कर्मचारीलाई मनोवैज्ञानिक दबाब दिने र कानुनसम्मत काम गर्न पाउने कर्मचारीको नैसर्गिक हक नियन्त्रण गरी हुकुमी शैलीको प्रशासनिक व्यवस्थापन लाद्न खोज्ने प्रवृत्ति बढ्दै गएको हुँदा त्यस्तो अनुचित कार्यलाई प्रश्रय नदिन र अविलम्ब बन्द गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौँ।’
सरकारले प्रमुख प्रशासकीय अधिकृतमा सरोज गुरागाईंलाई नियुक्त गर्ने निर्णय गरेसँगै गत असोज ७ गते महानगरका प्रमुख प्रशासकीय अधिकृतमा पदबहाली गरेका थिए।
तर उनलाई पुरानो बसपार्कस्थित काठमाडौँ टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृत गरेको आरोप लागेपछि हाल उनी निलम्बनमा परेका छन। लामो समयदेखि महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा प्रशासनिक काममा समस्यासँगै कर्मचारी,शिक्षकहरूले तलब पाएका छैनन।