News Desk
श्रष्टा र सिर्जना
प्रा.डा. कर्णबहादुर बानियाँ
विषय प्रवेश
चितवनका स्रष्टाहरूमा आफ्नो अलगै पहिचान बनाउन सफल केशवराज आमोदीका कृतिहरू प्रकाशित भइरहन्छन् । तर कहिले बेफुर्सदी र कहिले आफ्नै हुस्सुपनले उनका ती कृतिहरू अध्ययन गर्ने अवसर जुरेको थिएन । आमोदी चितवनका स्रष्टाहरूमाझ गजल गुरुका रूपले चिनिन्छन् । गजल सुन्न मन पर्ने भएपनि मलाई त्यसको रचना विधि र आवश्यक तत्व बारे ज्ञान नभएको हुनाले आमोदीका गजल सङ्ग्रह कस्ता छन् भनेर कोट्याउने आँट गर्न सकिएको थिएन । उनको ‘प्लिज म ऐले टेन्सनमा छु’ नामक निबन्ध सङ्ग्रह हात परेपछि र सो पुस्तक आद्योपान्त अध्ययन गरिसकेपछि भने मेरो मनमा लागेका केही कुराहरू प्रकट गर्दैछु ।
निबन्धकारको परिचय
केशवराज आमोदी वि.सं.२०१३ सालमा सुकौरा तनहुँमा जन्मिएका भएपनि उनको कर्मथलो भने चितवन रहेछ । उनी सानो छँदै उनका बाबुआमा चितवन बसाइ सरेका हुनाले उनको शिक्षादिक्षा यहीं भएको रहेछ । उच्च शिक्षा हासिल गरिसकेपछि पनि उनी चितवनका विद्यालय र महाविद्यालयमा अध्यापन कार्यमा व्यस्त भएछन् । अनि उनी यहाँका विभिन्न संघसंस्थामा पनि सक्रिय भएछन् । त्यसैले उनी चितवनमै रमे रमाएका रहेछन् ।
उनका कृतिहरूमा ‘हिमाल रुन्छ (२०४७)’ नामक एउटा उपन्यास र ‘कल्पना आलोक (२०७५)’ नामक एउटा कविता सङ्ग्रह छ भने ‘अरण्य रोदन (२०५४)’ र ‘कर्मभूमि (२०६०)’ नामक दुई खण्डकाव्य छन् । त्यस्तै ‘बहर बाटिका (गजल सिद्धान्त र प्रयोग, २०६९)’ र ‘प्लिज म ऐले टेन्सनमा छु (२०७१)’ नामक दुईवटा निबन्ध÷प्रबन्ध सङ्ग्रह पनि उनले प्रकाशित गरेका छन् । त्यसैगरी ‘उषा अनिरुद्ध (२०७४)’ नामक एउटा महाकाव्य, ‘सत्ता साधन (२०५८)’ नामक एक मुक्तक सङ्ग्रह, अनि ‘अवलोकन र अनुभूति (२०७६)’ नामक एक समालोचन सङ्ग्रह अनि ‘गजल दीपिका (२०६०)’, ‘आँखामा युग बिम्ब (२०७७)’, ‘राष्ट्रिय बहरमाला (भाग १, २०७६)’ र ‘राष्ट्रिय बहरमाला (भाग २, २०७९)’ नामक दुई संयुक्त गजल सङ्ग्रह प्रकाशित गर्न पनि सफल भएका छन् ।
विषयवस्तुहरू
केशवराज आमोदीद्वारा लिखित ‘प्लिज म ऐले टेन्सनमा छु’ नामक निबन्ध सङ्ग्रहमा ३२ वटा निबन्धहरू समाविष्ट छन् । पल्लव साहित्य प्रतिष्ठान, नारायणगढ, चितवनंद्वारा प्रकाशित यो पुस्तकमा १८० पृष्ठ छन् । त्यसमध्ये ८ पृष्ठ अग्रभाग, प्रकाशकीय, आत्म निवेदन र विषय सूचीले ओगटेको छ भने बाँकी १७२ पृष्ठ मुख्य विषय वस्तुले लिएको छ । यस कृतिमा निबन्ध, प्रबन्ध र संस्मरण समावेश गरिएको छ । वास्तवमा साहित्यका विभिन्न विधाहरूमध्ये निबन्ध विधा अत्यावश्यक र सशक्त विधा हो भन्नु अत्युक्ति हुँदैन होला । निबन्ध विधाले साहित्यलाई उन्नत र उर्वर बनाउने मात्र होइन सच्याउने, घचघच्याउने एवं परिमार्जित र परिष्कृत गर्ने गर्दछ । कुनै पनि विधाका सिद्धान्त प्रतिपादन गर्न होस वा पमिार्जन गर्न होस निबन्ध विधाकै सहारा लिनु पर्दछ । त्यसमा पनि कुनै पनि विषयको बारेमा छलफल गर्न र विमर्श चलाउन प्रबन्ध उपविधाको सहारा लिनु पर्दछ । त्यसैभएर हुन सक्दछ आफ्ना मनका कुरा मिठो तरिकाले प्रस्तुत गर्न सकिने गजल विधामा पोख्त भएर पनि आमोदीले निबन्ध विधामा पनि कलम चलाएका छन् । उनका निबन्धमा समसामयिक विषयवस्तु, राजनीतिक विकृति, सामाजिक विसङ्गति र साहित्य लेखनमा आवश्यक विधि र प्रविधि बारे चर्चा परिचर्चा गरिएको पाइन्छ । ‘प्लिज म ऐले टेन्सनमा छु’ नामक निबन्ध सङ्ग्रहमा समाविष्ट आलेखहरूलाई निबन्ध, प्रबन्ध र संस्मरण भनेर वर्गीकरण गरी विशलेषण गर्ने जमर्को गरिएको छ ।
निबन्ध
उनका निबन्धमा राजनीतिक विकृति र सामाजिक विसङ्गतिका बारे विशेष चर्चा परिचर्चा गरिएको पाइन्छ । सामाजिक विकृतिका विरुद्ध आवाज उठाइएका निबन्धहरूमध्ये एउटा ‘त्रिकोणचक्र ः मन, वचन र कर्ममा’, हो जसमा आफू मात्र सर्वज्ञानी हुँ भन्ने अहं त्यागेर अरूका कुरा पनि सुन्ने बानी हुनुकासाथै भनाइ र गराइमा एकरुपता हुनुपर्दछ भन्ने कुरा उल्लेख गरिएको छ । ‘समुद्रमन्थन अर्थात् विचारमन्थन’, नामक आलेखमा समुद्र भनेको जीवन हो र परम्परागत जीवन शैली त्यागेर अझ उन्नत र परिष्कृत जीवन यापन गर्न के गर्नु पर्दछ भनेर विचार मन्थन गर्नु नै समुद्रमन्थन हो भनिएको छ । आफूले अरूको उछित्तो काडेपछि उसले पनि आफ्नो बद्ख्वाइँ गर्छ । त्यसकारण अर्काको गोजाउरी गर्नु आफ्नै कुभलो चिताउनु हो भन्ने कुरा ‘चरित्र निर्माणले नै व्यक्तित्व निर्माण गर्छ’, भन्ने लेखको आसय छ । ‘झमझम तीज आयो भन्छन्’ नामक लेखमा चाड र पर्वको नाममा आएका विकृति र विसङ्गतीको चर्चा गरिएको छ । अरूलाई आफ्नो प्रभावमा पार्नु छ भने सुमधुर वाणिको सहारा लिनु पर्दछ भनिएको छ ‘वशीकरणको एउटै मन्त्र ः सुमधुरवाणी’ मा । ‘हिंड्दैछ पाइला मेट्दै छ’, नामक आलेखमा मानिसहरू कृतघ्न भएर आफूलाई सहयोग गरेका व्यक्तिहरूलाई पनि विर्सन्छन् जुन अति आलोच्य कार्य हो भनेका छन् । ‘सफलताको पहिलो फर्मुला नै चाकरी’ मा मानिसहरू पद, प्रतिष्ठा र मान प्राप्तिका लागि चाकडी र चाप्लुसी गर्न पछि पर्दैनन् जसले गर्दा समाजमा विकृति ल्याउँछ भनेका छन् । खेतमा गरिने रोपाइँ र कुनै विषयमा तयार गरिने आलेखको लागि गर्नु पर्ने चिन्तन र कसरतको तुलना गरेका छन् ‘रोपाइँको अझै गाढा पिरलो छ मनैभरि’ नामक आलेखमा । शोषक र शोषितको प्रतीकको रूपमा मानेका छन् ‘अचानो र खुकुरी’ लाई । ‘कालो छायाँ र घरको माया’ नामक आलेखमा मानिसलाई आफ्नो स्वामित्वमा रहेको घरको माया हुन्छ तर प्राकृतिक प्रकोप वा वैरीको कुदृष्टिका कारण आफ्नो घरबास पनि त्याग्नु पर्ने हुन्छ जुन अवस्था साह्रै हृदयविदारक हुन्छ भनिएको छ । हाम्रो समाजमा छोरा र छोरीकाबीचमा चर्को विभेद छ । छोरीलाई अवला मान्ने र उमेर नपुग्दै र आत्मनिर्भर हुने शिक्षा ग्रहण गर्न नपाउँदै अर्काको हातमा सुम्पने परम्परा छ । त्यही परम्पराको विरुद्ध जेहाज छेडिएको छ ‘छोरीलाई अपाङ्ग बनाउनेहरूको एउटा बस्ती’, नामक निबन्धमा । ‘प्वाल’ नामक निबन्धमा अरूका सानातिना गल्ती कमजोरी खोजेर फाइदा लिन खोज्ने प्रवृत्तिप्रति व्यङ्ग्य प्रहार गरिएको छ । समाजमा सकारात्मक भन्दा नकारात्मक कुरालाई प्रोत्साहन दिने प्रवृत्ति हावी भएकोमा यस्तो प्रवृत्ति हावी भएमा समाज भड्खालोमा जाकिन सक्छ भन्ने उनको तर्क छ । यही कुरा व्यक्त गरिएको छ ‘खलनायकी चरित्रबाट उब्जिएका केही प्रश्नहरू’ नामक निबन्धमा । ‘भ्रष्टाचार छुवाछुत र गोपीकृष्ण कौ’ नामको निबनधमा भ्रष्टाचारीलाई अछुत मान्दै त्यस्ताको सङ्गत गर्न नहुने विचार व्यक्त गरिएको छ । विचार र चिन्तन अर्थात् कुनै वस्तुलाई हेर्ने दृष्टिकोणले वस्तुको गुण र दोषमा पनि फरक पार्दछ भन्ने कुरा ‘आ लोचना ! आलो चना र आलोचना’ नामक आलेखमा व्यक्त गरिएको छ ।
आमोदीका निबन्धमा राजनीतिक विकृतिका बारेमा विशेष रूपमा चर्चा गरिएको पाइन्छ । राजनीतिक विकृतिका बारेमा व्यङ्ग्य प्रहार गरिएका निबन्धहरूमध्ये मुख्य आलेख ‘प्लिज म ऐले टेन्सनमा छु’ हो । यही लेखबाट नै यस पुस्तकको नाम राखिएको छ । मान्छेलाई कुनै न कुनै कुराको चिन्ता परिरहन्छ । पहिलो संविधानसभा विघटन भएर दोस्रो संविधानसभाको निर्वाचनका बेला लेखिएको हुनाले यस निबन्धमा तत्कालीन परिस्थितिमा पार्टीहरूमा देखा परेको तनावका बारेमा उल्लेख गरिएको छ । त्यस्तै ‘लेखनकलामा अलङ्कारको जादु’ नामक लेखमा पनि वि.सं.२०५९ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघटन गरी निम्ताएको राजनीतिक सङ्कटको बारेमा चर्चा गरिएको छ । सानोतिनो स्वार्थ बाझेमा पनि तुरुन्त फुटिहाल्ने तर जनताको अगाडी सधैं एकताको नारा फलाकिरहने पार्टीहरूको द्वैध चरित्रको उछित्तो काडिएको छ ‘एकता प्रयास र दारु सम्मेलन’ नामक निबन्धमा । ‘कञ्चनजङ्घाजस्तै सुन्दर छ मेरो सिद्धान्त’ नामको आलेखले वर्तमान नेपालका पार्टीहरूको लवस्तरो नीतिको खिल्ली उडाएको छ । आफूले के गर्ने हो ? आफ्ना नीति र कार्यक्रम के छन् ? भन्ने कुरै नगर्ने । अरूलाई कमसल देखाएर आफू असल बन्न खोज्ने दलहरूको खोक्रो चरित्र उदाङ्गो पारिएको छ यस लेखमा । प्रजातन्त्रको पुनस्र्थापनापछि आएको उच्छृङ्खलपनप्रति व्यङ्ग्य गरिएको छ ‘अरिगाँठेको खुट्टा र प्रजातन्त्रको पँखेटा’ नामक आलेखमा । चोक चोकका चिया पसलमा जमघट भएर गरिने सस्ता र अहंमिश्रित राजनीतिक र सामाजिक विषयवस्तुका गफको तेरिज खिचिएको छ ‘खरिदारको होटल र ढलोटको करुवा’ नामक आलेखमा ।
प्रबन्ध
यस कृतिमा केही प्रबन्ध समावेश गरिएको छ । ती आलेखामा कतिपय धार्मिक विषयका बारेमा गरिएका वर्णन, बखान र व्याख्या छन् । नवरात्र र शक्ति साधना, मकर संक्रान्ति, कालीगण्डकी र देवघाटधाम ः एक विहङ्गावलोकन र नागपञ्चमी यस प्रकारका प्रबन्धमा पर्छन् । ‘नवरात्र र शक्ति साधना’ नामक प्रबन्धमा वडा दशैंको अवसरमा गरिने शक्ति उपासनाको बारेमा टिप्पणी गरिएको छ । आमोदीको विचारमा शक्ति भनेको प्रकृति हो । प्रकृति भनेको नव सृष्टि हो र नव सृष्टिका लागि गरिने शक्ति साधना आवश्यक छ भन्ने उनको तर्क छ । ‘मकर संक्रान्ति, कालीगण्डकी र देवघाटधाम ः एक विहङ्गावलोकन’ नामक प्रबन्धमा माघे सक्राति, कालीगण्डकी र देवघाट धामको धार्मिक र पौराणिक महत्व बारे प्रकाश पारिएको छ । देव दम्पत्तिले भ्रमण गर्ने हुनाले त्यस क्षेत्रलाई देवाटन भनिएको हो । अर्थात् देव र आटन् शब्दको परिष्कृत रूप देवाटन वा देवघाट हो भन्ने उनको तर्क छ । कालीगण्डकीमा शालिग्राम पाइने हुनाले यो नदी अति पवित्र मानिन्छ । त्यस नदीमा माघ महिनामा स्नान गर्नु धार्मिक दृष्टिले पुण्य कर्म मानिन्छ भन्ने कुरा यस आलेखमा छ । ‘नागपञ्चमी’ नामक आलेखमा नागको महिमा, पूजा आराधना विधि र नाग पूजाबाट प्राप्त हुने फलको वर्णन गरिनुकासाथै प्रकृतिमा रहने सबै प्राणीको महत्व भएजस्तै नागको पनि महत्व भएकोले तिनको संरक्षणको आवश्यकता छ भन्ने कुरा उल्लेख गरिएको छ ।
अन्य कतिपय प्रबन्ध विविध विषयका छन् । त्यस्ता प्रबन्धमध्ये केही आलेखहरू साहित्य साधनामा प्रयोग गरिने बिम्ब र प्रतीकका बारेमा छन् । ती लेखहरूमध्ये एउटा ‘व्यङ्ग्य विनोदका केही धुमिल तरङ्गहरू’ हो जसमा साहित्यमा व्यङ्ग्यको प्रयोग किन गरिन्छ भन्ने बारेमा चर्चा गरिएको छ । अर्को ‘छन्द र लयको संक्षिप्त चर्चा’ हो । यसमा छन्द कसरी बन्दछ ? कसरी लेख्ने ? कविता लेख्दा छन्द र लय कसरी मिलाउने भन्ने बारेमा वर्णन र व्याख्या गरिएको छ । अर्को लेख साहित्यकार बन्ने ‘रहर’ सम्बन्धमा छ । यस आलेखमा लेखक, कवि वा साहित्यकार बन्न रहर गरेर मात्र हुँदैन कठोर साधना गर्नु पर्दछ; त्यसका लागि आफूले रचना गर्न खोजेको विधा र विषयमा गहिरो अध्ययन गर्नु पर्दछ भन्ने कुरा उल्लेख गरिएको छ । ‘स्काउटको मर्म र विश्लेषण’ मा मानव सेवाका लागि वेडेन पावेलले स्थापना गरेको स्काउट नामक संस्थाको स्थापना, उद्देश्य र त्यसले गरेका कार्यहरूको वर्णन गरिएको छ । त्यसैगरी ‘छन्दात्मक शायरी कि बहरवद्ध शेर’ नामक आलेखमा गजल लेखनमा आएको लहरको बारेमा चर्चा गरी गजल लेखनको भावना, विधि र शैली अनुकुल नभएकोमा गुनासो गरेकाछन् ।
संस्मरण
आमोदीले लेखेका संस्मरणमध्ये ‘एउटा साङ्गीतिक महायात्राको विश्रान्ति स्मृति अवशेष’ नामक आलेख अत्यन्त मर्मस्पर्शी छ । नारायणगोपाल गुरुवाचार्य तीसको दशकका विलक्षण प्रतिभा भएका मूर्धन्य गीतकार, गायक र संगीतकार थिए । उनले लेखेका गीत कालजयी छन् । उनको गलाबाट निसृत स्वरको झङ्कार नेपाली मनमा अझै पनि झङ्कृृत भइरहेको छ । उनको संगीतमा मन्त्रमुग्ध नहुने को पो होला र ? तिनै विलक्षण प्रतिभाका धनी नारायण गोपालको महाप्रस्थानका बेला भावविभोर भएर लेखिएको यो संस्मरण अत्यन्त मार्र्मिक छ । त्यस्तै आफू दुर्घटनामा परी बाँचेको र त्यसबाट आफूमा आएको अनुभूति बारे संस्मरण लेखेका छन् ‘पुनर्जीवनपछिका केही अनुभूतिहरू’ मा । वि.सं. २०५९ सालमा विजय विकास केन्द्र गैडाकोटले नववर्षको उपलक्ष्यमा आयोजना गरेको कवि गोष्ठीको सम्झनामा लेखिएको आलेख हो ‘काव्य वासन्तीका तरङ्ग तरेली’ ।
भाषा र शैली
केशवराज आमोदीको ‘प्लिज म ऐले टेन्सनमा छु’ नामक कृतिमा समाविष्ट निबन्धहरूमा क्लिष्टताको गन्ध पनि छैन । सरल, सुबोध र मृदु शब्द चयन एवं छोटा, मिठा र सुस्पष्ट वाक्य गठन आमोदीेका विशेषता हुन् । त्यसमा पनि ठेट नेपाली भाषाको प्रयोगले उनका निबन्धहरू दोहोराईतेहराई पढुँपढुँ लाग्ने खालका छन् । उनका निबन्धमा ब्यङ्ग्यको प्रयोग प्रचुर मात्रामा गरिएको छ तापनि काहींकतै पनि च्वास्स बिझाउने गरी कसैप्रति पनि घोचपेच गरिएको पाइँदैन । पाठकलाई नबिच्काउने गरी आफ्नो अभिव्यक्ति संप्रेषण गर्ने कला नै आमोदीको आफ्नोपन हो । यस निबन्ध सङ्ग्रहमा निबन्ध, प्रबन्ध र संस्मरण उपविधाका रचनाहरू छन् । त्यसकारण यस कृतिका रचनामा वर्णनात्मक, विवरणात्मक, व्याख्यात्मक र आत्मपरक गरी विविध प्रकारका शैली अपनाइएको पाइन्छ ।
विशेषताहरू
केशवराज आमोदीले कसैको अन्ध नक्कल गरेको देखिंदैन । उनमा आफ्नै किसिमको भाषा र शैलीमा अभिव्यक्ति दिने खुबी छ । उनका निबन्धहरूमा पाइने विशेषताहरूलाई यसरी सूचीकृत गर्न सकिन्छ–
(१) उनका निबन्धहरूमा मानक नेपाली भाषाको प्रयोगलाई प्राथमिकता दिइएको छ । साथै उखान र टुक्काको प्रयोग अत्यधिक मात्रामा गरिएको छ ।
(२) उनका निबन्धहरूमा छोटा, मिठा, सुबोध तर चोटिला वाक्य गठन गरिएको छ । वाक्य गठन होस वा प्रस्तुतिकरण काहींकतै पनि क्लिष्टता छैन ।
(३) उनका निबन्धहरूमा शब्दजाल बुनेर पाठकलाई अलमल्याउनुको सट्टा विषयवस्तुको गहिराइमा पुगेर पाठकलाई सन्तुष्ट पार्ने कला प्रयोग गरिएको छ । उनले आफ्नो तर्कलाई पुष्टि गर्न संस्कृतका श्लोक र पौणाणिक कथालाई दृष्टान्तको रूपमा प्रयोग गरेका छन् ।
(४) उनका निबन्धहरूमा कसैलाई पनि मन अमिलो बनाउने गरी घोचपेच नगरिकन कसिलो तरिकाले सामाजिक विकृति र राजनीतिक विसंगतिको उछित्तो काढिएको छ ।
(५) उनका निबन्धहरूमा सचेत र शिष्ट तरिकाले आर्थिक, सामाजिक र राजनीतिक विकृति र विसङ्गतिको खेदो खनिएको छ ।
(६) उनका निबन्धमा बिम्ब र प्रतीकको प्रयोग अत्यधिक मात्रामा गरिएको छ ।
यद्यपि केशवराज आिमोदीले सानोतिनो कुरालाई पनि मिहिन तरिकाले केलाएर तथा शब्दहरू पनि तौलीतौली प्रयोग गरेर आफ्ना निबन्धहरूलाई खँदिला, स्वादिला, शिक्षाप्रद र आधिकारिक बनाउने कोसिस गरेका छन् तापनि कतिपय निबन्धहरूका विषयवस्तु स्पष्ट छैनन् भने कतिपय निबन्धहरूमा विचार र तर्क छिरलिएको हुनाले बिना निष्कर्ष टुङ्गाइएको हो कि जस्तो देखिन्छ । जस्तै ‘लेखनकलामा अलङ्कारको प्रयोग’ नामक निबन्धको शीर्षक एकातिर छ विषयवस्तु र व्याख्या अर्कै कुराको गरिएको छ ।
निष्कर्ष
केशवराज आमोदी चितवनको साहित्यिक गतिविधिमा लागिपरेका एक क्रियाशील व्यक्ति हुन् । गद्य र पद्य दुवै विधामा कलम चलाउन सिपालु आमोदी पद्य विधामा निकै सक्रिय छन् । त्यसमा पनि महाकाव्य र गजल लेखनमा उनको लगाव बढी देखिन्छ । तापनि उनले निबन्ध पनि लेखेका छन् । उनका निबन्धमा जीवनको भोगाइलाई दर्शनको जलप लगाएर पाठकसामु प्रस्तुत गरिएको हुन्छ । उनी सामान्य विषयवस्तुलाई पनि गहन तरिकाले उठाउन सिपालु छन् । उनका निबन्धहरू कसिला, चोटिला र रसिला छन् । उनका निबन्धमा क्लिष्टताको गन्ध पनि छैन । सरल र शिष्ट भाषा एवं शैलीमा आफ्नो अभिब्यक्ति संप्रेषण गर्नु उनको निजी विशेषता हो ।
केशवराज आमोदीको ‘प्लिज म ऐले टेन्सनमा छु’ नामक निबन्ध सङ्ग्रहमा विविध विषयवस्तु समेटिएका छन् । यस सङ्ग्रहमा सामाजिक विकृति, राजनीतिक विसङ्गतिकासाथै साहितय साधनामा अपनाउनु पर्ने विविध विधि र शैलीको चर्चागरिएको छ । यस सङ्गालोले पाठकहरूलाइृ मनोर१जन दिनुकासाथै बौद्धिक खुराक पनि दिनेछ भन्ने मेरो ठम्याइ छ ।
अन्तमा केशवराज आमोदीको नेपाली साहित्यप्रतिको लगनशीलता र जाँगर जीवन पर्यन्त रहिरहोस र उनीबाट अझै गहन कृतिहरू प्रकाशित हुँदै जाउन् भन्ने सदिक्षा अभिव्यक्त गर्दछु । (पौष १७, २०८१, भरतपुर म.न.पा. १२) ।