News Desk
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले आफ्नो रगत र बलिदानमार्फत प्राप्त गरेको ऐतिहासिक उपलब्धि भएको बताएका छन्। शुक्रबार सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन समारोहमा सहभागी हुँदै राष्ट्रपतिको यो अभिव्यक्ति आएको हो।
उनले नेपाली जनताले जहानियाँ राणा शासन, पञ्चायती व्यवस्था र राजतन्त्रजस्ता निरंकुश शासनप्रणालीको अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न अनेकौं संघर्ष र बलिदान गरेको स्मरण गरे। “हामीले संघीय लोकतान्त्रिक गणतन्त्र सजिलै पाएका होइनौं। यो हजारौँ नेपालीको त्याग, बलिदान र कठोर संघर्षको परिणाम हो,” राष्ट्रपति पौडेलले भने।
उनले अहिलेको शासन प्रणालीमा आम नागरिक नै सार्वभौमसत्ता र गणतान्त्रिक संरचनाका मालिक भएको स्पष्ट पारे। "संविधानअनुसार जनताले शासन गर्नेहरूलाई उत्तरदायी बनाउन सक्ने अधिकार पाएका छन्," उनले थपे। जनताको कर, श्रम र आशामा चल्ने राज्य व्यवस्थामा जनताको इच्छा र हित नै सर्वोपरि हुनुपर्ने उनले उल्लेख गरे।
राष्ट्रपति पौडेलले लोकतन्त्र र नागरिक स्वतन्त्रता कमजोर पार्ने जुनसुकै निरंकुश प्रवृत्ति जनताले स्वीकार नगर्ने पनि बताए। इतिहासले राणा शासन, पञ्चायत र सक्रिय राजतन्त्रजस्ता निरंकुश शक्ति जनताले कहिले स्वीकार नगरेको उदाहरण दिँदै उनले भने, "कुनै पनि शासकले जनताको इच्छा र अधिकारमाथि अंकुश लगाउने प्रयास सफल हुने छैन।"
कार्यक्रमका क्रममा उनले आफू सभामुख भएका बेला पूर्वी पहाडका गाउँ-शहर डुल्दै जनताको दुःख-सुख र आकांक्षा बुझ्नका लागि गरेको यात्रा सम्झिए। सोलुखुम्बुको टिम्मुरबोटेमा घटेको ऐतिहासिक ‘टिम्मुरबोटे काण्ड’ स्मरण गर्दै उनले त्यहाँ आफ्ना सहकर्मीहरूको हत्या भएको पीडादायक क्षण सम्झिए। "त्यो ठाउँ नजिक पुग्दा आज पनि मेरो मन भक्कानिन्छ," उनले भावुक हुँदै भने।
टिम्मुरबोटे काण्ड २०३१ सालमा सुरक्षाकर्मीले दर्जनभन्दा बढी विद्रोहीमाथि घेरा हाली ओढारभित्रै हत्या गरेको त्रासदीपूर्ण घटना हो। राष्ट्रपतिको भनाइमा, यस्ता घटनाहरू नेपाली जनताको मुक्ति र लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि प्रेरक बने।
अन्त्यमा, राष्ट्रपति पौडेलले नागरिक स्वतन्त्रता, न्याय र उत्तरदायित्व सुनिश्चित गर्न अहिलेको व्यवस्था सुदृढ बनाउने जिम्मेवारी सरकार, राजनीतिक दल, प्रशासन र नागरिक सबैको रहेको उल्लेख गरे। "यो व्यवस्था केवल सत्ता चलाउनेहरूको लागि होइन, जनताको अधिकार, सम्मान र भविष्य सुनिश्चित गर्ने माध्यम हो," उनले भने।