News Desk
बर्दियाबाट हराएकी एकजना १७ वर्षीय किशोरीको भारतीय शहर मुम्बईबाट उद्धार गरिएको छ। बर्दियाको बढैयाताल गाउँपालिका-४ घर भएकी किशोरी गएको माघ २८ गते हराएकी थीन।
किशोरी हराएको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले परराष्ट्र मन्त्रालयमार्फत खोजी तथा उद्धारका लागि पहल थालेको थियो।
भारतको ‘किन इन्डिया’ को सहयोगमा किशारीको उद्धार गरी आज (बिहीवार) अभिभावकको जिम्मा लगाइएको छ। बढैयाताल गाउँपालिकाको रोहबरमा किशोरीलाई उनका अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
घरबाट नेपालगञ्ज काम गर्न जाने क्रममा सामाजिक सञ्जालमार्फत केटासँग सम्पर्क भएको पारिवारिक स्रोतले जनाएको छ।
केटाले बिहे गर्छु भनेर भारतीय शहर मुम्बई लगेको र आफूलाई त्यहाँ छाडेर अलपत्र पारेको किशोरीले बताएकी छन। छोरी फेला परेपछि किशोरीका बुवा र आमा हर्षित भएका छन।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुखसमेत रहेका प्रहरी उपरीक्षक केदार खनालले किशोरीलाई घरपरिवारको जिम्मा लगाइएको बताए। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।