News Desk
काठमाडौं, चैत १५ । राजधानी काठमाडौंको तीनकुनेस्थित एक घरमा आगलागी हुँदा एभिन्यूज टेलिभिजनमा कार्यरत क्यामेराम्यान सुरेश रजकको मृत्यु भएको छ। शुक्रबार साँझ राजावादी प्रदर्शनकारीहरूले प्रहरी बसेको आशंकामा आगो लगाएको उक्त भवनमा रजक जलेर मृत्यु भएको पुष्टि भएको हो।
राजावादी समूहले शुक्रबार काठमाडौंका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्दै सरकारी संयन्त्र र सुरक्षाकर्मीहरूमाथि आक्रमण गर्दै आएका थिए। तीनकुनेस्थित उक्त घरमा प्रहरी बसेको भन्ने हल्लाका आधारमा प्रदर्शनकारीहरूले ढुंगा प्रहार र तोडफोडपछि आगजनी गरेका थिए। आगलागीपछि स्थानीय र सुरक्षाकर्मीले नियन्त्रणमा लिन प्रयास गरे पनि आगो अत्यधिक फैलिएको थियो।
आगलागीपछि भवन भित्र कोही छैन भन्ने अनुमान गरिएको थियो। तर आगो निभाइसकेपछि अनुसन्धान गर्ने क्रममा भवनको तेस्रो तलामा जलेको अवस्थामा एक व्यक्तिको शव फेला परेको थियो।
प्रहरी स्रोतका अनुसार मृतक सुरेश रजक एभिन्यूज टेलिभिजनमा विगत सात वर्षदेखि क्यामेराम्यानका रूपमा कार्यरत थिए। उनी घटनास्थल नजिकैको बाग्मती कोरिडोरबाट ड्यूटी सकेर फर्कंदै गर्दा तीनकुनेस्थित उक्त घरमा आश्रय लिएका थिए भन्ने प्रारम्भिक अनुमान गरिएको छ। तर घटनाका विषयमा प्रहरी र टेलिभिजन प्रशासनले औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेका छैनन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकारीले घटनास्थलको प्रारम्भिक अनुसन्धान जारी रहेको र घटनाको पूर्ण विवरण शोक सन्देशसहित चाँडै सार्वजनिक गर्ने जानकारी दिएका छन्।
यस घटनापछि पत्रकार महासंघ, सञ्चारकर्मी संघ र विभिन्न मानवअधिकार संघ-संस्थाले गहिरो दुःख व्यक्त गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
प्रदर्शनकारीहरूद्वारा सुरक्षाकर्मी लक्षित गरेर गरिएको हिंसात्मक क्रियाकलापका कारण सर्वसाधारणको ज्यान जाने अवस्था सिर्जना भएको भन्दै सरोकारवालाहरूले शान्तिपूर्ण आन्दोलनका नाममा हिंसा र आगजनी नगर्न सबैलाई आग्रह गरेका छन l