News Desk
शुक्रबार राजधानी काठमाडौंमा पूर्वराजा समर्थकहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दै जाँदा दुई जनाको ज्यान गएको छ भने ११० जना घाइते भएका छन्। प्रदर्शनका क्रममा १४ स्थानमा आगजनी भएको प्रहरी स्रोतले जनाएको छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुने क्षेत्रमा आयोजित प्रदर्शन नियन्त्रण बाहिर गएको थियो। प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमध्ये एक जना पत्रकार र अर्का एक जना प्रदर्शनकारी रहेका छन्।
कीर्तिपुर नगरपालिका–४ निवासी २९ वर्षीय सबिन महर्जन र सुरेश रजक मृत फेला परेका हुन्। रजक एभिन्युज टेलिभिजनका पत्रकार थिए भने महर्जन प्रदर्शनमा सहभागी थिए। तीनकुनेस्थित मार्बल हाउस नजिक मृत अवस्थामा फेला परेका रजक र महर्जनमध्ये महर्जनलाई घाइते अवस्थामै शिक्षण अस्पताल, महाराजगन्ज पुर्याइएको थियो। उपचारका क्रममा अपराह्न ४:०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रदर्शनमा नेपाल प्रहरीका ५३ जना र सशस्त्र प्रहरी बलका २२ जना गरी सुरक्षाकर्मीहरू पनि घाइते भएका छन्। यस्तै, प्रहरीको विवरण अनुसार प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका छन्।
प्रदर्शनको क्रममा विभिन्न स्थानहरूमा तोडफोड, आगजनी र लुटपाटका घटनाहरू पनि भएका छन्। प्रहरीका अनुसार निम्न स्थानहरूमा क्षति पुगेको छ:
१। नयाँ बानेश्वरमा रहेको नयाँ भवन
२। सिनामंगलमा नेपाल प्रहरीले जडान गरेका दुई थान सीसी क्यामेरा
३। सिनामंगलस्थित प्रहरी बिट
४। कोटेश्वरमा रहेको प्रहरी प्रभाग
५। कोटेश्वरस्थित ट्राफिक प्रहरी प्रभाग
६। बागमती करिडोरमा अवस्थित समाजवादी पार्टीको केन्द्रीय कार्यालय
७। कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट
सम्बन्धित निकायले प्रदर्शन नियन्त्रणमा ल्याउन व्यापक प्रयास गरे पनि क्षति न्यूनीकरण गर्न नसकिएको बताइएको छ।