News Desk
काठमाडौं, चैत १६ – काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार दिउँसो गरिएको राजावादी प्रदर्शनका क्रममा झडप भएपछि प्रहरीले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिँदै कारबाही प्रक्रिया अघि बढाएको छ। प्रदर्शनका क्रममा शान्ति सुरक्षामा खलल पुर्याएको, सार्वजनिक यातायात अवरुद्ध गरेको र तोडफोड तथा उच्छृङ्खल गतिविधि देखिएको भन्दै प्रहरीले कडाइका साथ भिड नियन्त्रणमा लिएको हो।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार राति अबेरसम्म ५१ जना प्रदर्शनकारी पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष धवलशमशेर राणा, पूर्वअध्यक्ष रवीन्द्र मिश्रलगायत पार्टीका केन्द्रीय नेतासमेत परेका छन्।
प्रहरी प्रवक्ता अपिलराज बोहोराका अनुसार प्रदर्शनको क्रममा उत्पन्न परिस्थितिबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ। "शुक्रबार दिउँसो तीनकुने क्षेत्रमा अवैध रूपमा भीड जम्मा गरी सार्वजनिक शान्ति, सुरक्षा र कानुनी व्यवस्थालाई चुनौती दिने गतिविधि भएकाले सम्बन्धित व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याइएको छ," प्रवक्ता बोहोराले बताए।
प्रहरीका अनुसार केही प्रदर्शनकारीहरूले सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेका थिए भने सडक अवरुद्ध गरी सर्वसाधारणलाई असहज बनाएको देखिएको छ। घटनास्थलमा स्थिति नियन्त्रणका लागि प्रहरीलाई लाठीचार्ज र हल्का बल प्रयोग गर्नुपरेको थियो।
यसबीच, राप्रपा प्रवक्ता मोहन श्रेष्ठले प्रदर्शनको उद्देश्य शान्तिपूर्ण रूपमा राजसंस्था पुनःस्थापनाको पक्षमा जनमत प्रकट गर्नु रहेको बताउँदै सुरक्षाकर्मीको ज्यादतीको भर्त्सना गरेका छन्। उनले पक्राउ परेका पार्टी नेताहरूको तत्काल रिहाइको माग गरेका छन्।
काठमाडौं प्रहरी प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार प्रदर्शनको क्रममा सार्वजनिक सम्पत्ति क्षति, सडक जाम, आक्रोशजन्य गतिविधि र भौतिक झडप भएकोले अनुसन्धान अघि बढाइएको छ। "कानुन तोड्ने र सार्वजनिक सुरक्षामा चुनौती दिने जो कोहीलाई कानुनी दायरामा ल्याइनेछ," खड्काले भने।
प्रहरीले अहिले पक्राउ परेका व्यक्तिहरुको पहिचान, भूमिकाबारे थप अनुसन्धान गरिरहेको छ। यदि आवश्यक परे प्रदर्शनका अन्य सहभागीहरूलाई पनि सोधपुछका लागि बोलाइने बताइएको छ।
राजधानीमा पछिल्ला दिनहरूमा राजसंस्थाको पुनःस्थापनाको माग गर्दै पटक–पटक प्रदर्शन भइरहेका छन्। राजनीतिक वृत्तमा यसलाई राजसंस्थाप्रतिको जनभावनाको संकेतका रूपमा लिइए पनि सरकारले कानुन विपरीत हुने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेको छ।