राजावादी गतिविधि भए कडा प्रतिकार गर्ने ६ राजनीतिक दलका युवा संगठनहरूको चेतावनी
News Desk
Mar-29 , 2025 तारिख 12:42 बेलुका

काठमाडौं, चैत १६ – देशमा पछिल्ला दिनहरूमा भइरहेको राजावादी आन्दोलनप्रति असन्तोष जनाउँदै सत्ता र प्रतिपक्षी दलका युवा संगठनहरूले कडा प्रतिरोधको चेतावनी दिएका छन। शुक्रबार साँझ नेपालका छ वटा प्रमुख राजनीतिक दलका युवा संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ कडा कदम चाल्न बाध्य हुने जनाएका हुन।

संयुक्त वक्तव्यमा नेपाल तरुण दल, राष्ट्रिय युवा संघ नेपाल, युवा संघ नेपाल, युवा संगठन नेपाल, योङ कम्युनिस्ट लिग (वाईसीएल) र नेपाल समाजवादी युवा संघले हालै काठमाडौंको तीनकुने, कोटेश्वर, जडीबुटी लगायतका क्षेत्रमा भएको राजावादी प्रदर्शनलाई अराजक र हिंसात्मक भन्दै कडा आपत्ति जनाएका छन।

विज्ञप्तिमा पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष उक्साहटमा दुर्गा प्रसाईं, रविन्द्र मिश्रलगायतका नेताहरूको नेतृत्वमा अराजक भीड परिचालित गरिएको आरोप लगाइएको छ। ँदेश शान्ति, स्थिरता र समृद्धिको दिशातर्फ अघि बढिरहेको अवस्थामा प्रतिगमनको षड्यन्त्र गर्दै सार्वजनिक सम्पत्ति, सञ्चार गृह र सुपरमार्केटहरूमा तोडफोड, लुटपाट तथा हिंसा मच्चाइएको छ,ँ विज्ञप्तिमा भनिएको छ।

युवा संगठनहरूले मुलुकले धेरै संघर्ष र बलिदानबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सबै लोकतन्त्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता पनि औँल्याएका छन। ँसंविधान र लोकतान्त्रिक मूल्य मान्यताविपरीत हुने कुनै पनि गतिविधि युवा संगठनहरूले स्वीकार गर्ने छैनन। आवश्यक परे प्रतिकारका सबै उपायहरू अपनाइनेछ,ँ विज्ञप्तिमा उल्लेख छ।

संगठनहरूले यस्ता अराजक गतिविधि गर्ने समूह र व्यक्तिहरूलाई शीघ्र कानुनी कारबाहीको दायरामा ल्याउन सरकार र सम्बन्धित निकायसँग माग गरेका छन। साथै, समाजमा हिंसा, विभाजन र डर फैलाउने किसिमका षड्यन्त्रकारी प्रयासहरूलाई विफल पार्न सबै सचेत नागरिकहरूलाई एकजुट भई प्रतिवाद गर्न आह्वान गरिएको छ।