गणतन्त्रवादी नेताको हैसियतले आत्मालोचना गर्न चाहन्छु: प्रचण्ड
News Desk
Mar-29 , 2025 तारिख 07:26 बिहान

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रवादीहरूले जनताको अपेक्षानुसार काम गर्न नसकेकै कारण प्रतिगामी तत्त्वहरूले टाउको उठाउने दुःसाहस गरेको भन्दै आत्मालोचना गरेका छन।

समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रवार काठमाडौँ गरेको आमसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले जनचाहनानुसार काम गर्न नसकेकै कारण प्रतिगामी तत्त्व सक्रिय भएको भन्दै आत्मालोचना गरे।

उनले विगतका गल्तीबाट पाठ सिक्दै जनता, शहीद परिवार, बेपत्ता योद्धा परिवार, घाइते र बेपत्ता पारिएका परिवारका सपना पूरा गर्ने भन्दै अर्को क्रान्तिको घोषणा गरे। उनले गणतन्त्रमा गरेका कमजोरी सच्याउँदै लोकतान्त्रिक गणतन्त्रलाई समाजवादी गणतन्त्रमा ढाल्न नयाँ आन्दोलन एवं क्रान्तिको आवश्यक रहेको बताए।

प्रचण्डले भने, ‘हामी गणतन्त्रवादीहरूले जनताका आशा अपेक्षानुसार काम गर्न नसक्दा इतिहासको कुडाकर्कटमा मिल्काइएका तत्त्वले टाउको उठाउने दुस्साहस गर्न पाए। त्यसकारण म सम्पूर्ण जनसमुदायसँग गणतन्त्रवादी नेताको हैसियतले आत्मालोचना गर्न चाहन्छु, आत्मसमीक्षा गर्न चाहन्छु।’

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विगतमा धेरै गल्ती गरिसकेकाले फेरि अर्को गल्ती नगर्न चेतावनी दिए। नेपाललाई २४० वर्षसम्म संसारको सबैभन्दा गरिब देश बनाउनेहरूलाई नेपाली जनताले छुट नदिने उनको दाबी छ।

धेरै पढिएको