म​हान​ग​र​ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तिर्न​ भ​न्दै प​ठायो प​त्र​
News Desk
Mar-29 , 2025 तारिख 11:26 बेलुका

काठमाडौं महानगरपालिकाले तीनकुने क्षेत्रमा भएको प्रदर्शनमा सार्वजनिक सम्पत्ति तोडफोड र फोहोर गरेको आरोपमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तोकेको छ।

शुक्रबार दुर्गा प्रसाईंको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको माग गर्दै आयोजित प्रदर्शनका क्रममा भएको क्षतिको जिम्मेवारी दिँदै, काठमाडौं महानगरपालिकाका नगर प्रहरीले निर्मल निवास काठमाडौंका नाममा ८ वटा छुट्टाछुट्टै पत्र काटेर कुल ७ लाख ९३ हजार रुपैयाँ जरिवाना निर्धारण गरेको हो।

प्रदर्शनअघि बिहीबार दुर्गा प्रसाईंले निर्मल निवासमा पुगेर पूर्वराजासँग भेट गरेका थिए। त्यसपछिको दिन तीनकुने क्षेत्रमा प्रदर्शन गरिएको थियो। सो क्रममा प्रसाईंले आफूलाई राजसंस्थाका लागि कमाण्डर तोकिएको घोषणा गरेका थिए। प्रदर्शनकारीहरूले प्रहरीले लगाएको घेरा तोड्न पटक–पटक प्रयास गरेका थिए। प्रसाईं आफैंले प्रहरी घेरा तोड्दै निषेधित क्षेत्रमा प्रवेश गरेका थिए।

घटनाका क्रममा प्रदर्शनकारीहरू र प्रहरीबीच झडप भएको थियो। झडपमा प्रहरीले अश्रुज्ञ्ास प्रहार गरेपछि स्थिति झन तनावग्रस्त बनेको थियो। प्रदर्शनकारीहरूले निजी घर, सुपरमार्केट, सञ्चार गृह, पार्टी कार्यालय, जडिबुटी प्रशोधन केन्द्र र सरकारी गाडीमा आगजनी र तोडफोड गरेका थिए। आगो निभाउन पुगेको काठमाडौं महानगरपालिकाको दमकलमाथि समेत ढुंगा प्रहार गरिएको थियो।

महानगरको संरचनामा भएको क्षति, सरसफाइ खर्च र अन्य क्षतिपूर्ति स्वरूप पूर्वराजा शाहसँग जरिवाना असुल गर्ने निर्णय गरिएको महानगरले जनाएको छ। शनिबार महानगरको टोलीले तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा क्षतिको विवरण संकलन गरेको थियो।

शुक्रबारको प्रदर्शनमा दुई जनाको मृत्यु समेत भएको थियो। प्रदर्शनमा काठमाडौं महानगरपालिकाका संरचना र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याइएको थियो।

दुर्गा प्रसाईंले आह्वान गरेको उक्त आन्दोलनमा राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति, राप्रपा र राप्रपा नेपालले समर्थन जनाएका थिए। घटनापछि प्रसाईं फरार रहेका छन। प्रदर्शनमा सहभागी समितिका सदस्य सचिव तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणा भने शुक्रबार साँझ पक्राउ परेका थिए।

यसअघि पनि सार्वजनिक स्थानमा तोडफोड, फोहोर र संरचनामा क्षति पुर्‍याएको आरोपमा काठमाडौं महानगरपालिकाले फागुन २५ गते त्रिभुवन विमानस्थल क्षेत्रको प्रदर्शनका लागि राप्रपामाथि एक लाख रुपैयाँ जरिवाना लगाएको थियो। त्यो जरिवाना सांसद ज्ञानेन्द्र शाहीले तिरेका थिए। दरबारमार्गमा कार्यक्रम गरेकोमा नेकपा (एमाले) लाई पनि यसअघि एक लाख रुपैयाँ जरिवाना तोकिएको थियो।