News Desk
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजावादी प्रदर्शनका क्रममा भएको हिंसा रोक्न नसकेको भन्दै गृहमन्त्री रमेश लेखकप्रति असन्तुष्टि जनाएका छन। प्रहरी महानिरीक्षक दीपक थापासहित सुरक्षा अधिकारीहरूको उपस्थितिमा अध्यक्ष नेपालले तोडफोड र आगजनी रोक्न प्रहरीले चालेका कदमप्रति प्रश्न उठाएका थिए।
शुक्रबार आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा प्रदर्शनकारीले तोडफोड तथा आगजनी गरेपछि घटनाको स्थलगत निरीक्षण गर्न गृहमन्त्री लेखक पुगेका थिए।
‘तपाईंको आदेश प्रहरीले नमानेको हो कि? प्रहरी संगठनभित्र नै केही समस्या छ?’ अध्यक्ष नेपालले गृहमन्त्रीसँग जिज्ञासा राख्दै भने, ‘प्रहरी समयमै पुगेको भए यति ठूलो क्षति हुने थिएन।’
उनले प्रहरी महानिरीक्षक थापालाई पनि उही प्रश्न दोहोर्याए। जवाफमा थापाले, ‘हामीले आवश्यक सुरक्षा टोली खटाएकै थियौं,’ भन्दै प्रहरी प्रशासनले सक्दो प्रयास गरेको दाबी गरे।
यसै विषयलाई लिएर शनिबार बिहान समाजवादी मोर्चाको बैठक पनि बसेको छ।
शुक्रबार तीनकुने क्षेत्रमा राजावादी प्रदर्शनकारी उग्र बनेका थिए। उनीहरूले घर तथा कार्यालयमा तोडफोड गर्नुका साथै सञ्चार गृहमाथि आक्रमण गरे। कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा समेत आगजनी गरियो।
आलोकनगरमा रहेको समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा पनि प्रदर्शनकारीले महत्त्वपूर्ण कागजात बाहिर निकालेर जलाएका थिए।
यस्तै, शनिबार अध्यक्ष नेपालले पूर्व राष्ट्रपति रामवरण यादवसँग भेट गरी पछिल्लो घटनाक्रमबारे छलफल गरेका छन।