News Desk
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिनुभएको छ । शनिबार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूले सोधेको जिज्ञासामा उहाँले पूर्वराजा शाहलाई पक्राउ गरेर देखाउन चुनौती दिनुभएको हो ।
उहाँले आफूले चुनाव जित्ने बहानाले मात्रै राजाको नाम नलिएको भन्दै राजसंस्था देशको आवश्यकता भएको बताउनुभयो । उहाँले तीनकुनेको घटनाका बारेमा पूर्वराजाको नाम जोडिएको प्रति असन्तुष्टि व्यक्त गर्दै त्यसबारे आफ्नो कुनै टिप्पणी नभएको बताउनुभयो । राजालाई कुनै पनि विवादमा तान्नु नहुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “राजाको नाम लिएपछि चुनाव जित्न सजिलो हुन्छ भनेर राजा चाहिन्छ भनेको होइन । त्यस कारणले राजा जसले बोके पनि हुन्छ, जसले ल्याए पनि हुन्छ भनेर हामीले बारम्बार भनिरहेका छौं । हामीले कुनै व्यक्तिगत फाइदा र व्यक्तित्व विकासको प्रयोजनका लागि राजसंस्था चाहिन्छ भनेको होइन । त्यस कारण मलाई कुनै टिप्पणी गर्नु छैन र राजालाई विवादमा तान्नु हुन्न भन्ने कुरामा अहिले पनि स्पष्ट छु । राजालाई अरेस्ट गरेर देखाउनु अनि शक्ति हामी देखाउछौं ।”
अध्यक्ष लिङदेनले तीनकुनेमा भएको प्रदर्शनमा सरकारले हिंसा भड्काएको पनि आरोप लगाउनुभयो । उहाँले हिंसा भड्काएको आरोपमा सरकारले पक्राउ गरेको नेता रवीन्द्र मिश्र, डा. धवल शमशेर राणा र अधिवक्ता स्वागत नेपाललाई २४ घण्टाभित्र रिहा नगरे पार्टीले देशभर विरोधका कार्यक्रम सुरु गर्ने चेतावनी दिनुभयो ।