News Desk
मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले सरकार सबै नागरिकको चित्त बुझाउने अवस्थामा पुग्न नसकेको धारणा राख्नुभयो। निराशाजनक अभिव्यक्तिहरू मात्र दिँदा देशले प्रगति गर्न नसक्ने बताउँदै उहाँले सकारात्मक कदम आवश्यक रहेको उल्लेख गर्नुभयो।
सांसद खतिवडाले संसद्को हिउँदे अधिवेशन कानुन निर्माणका हिसाबले केही हदसम्म सफल भएको स्वीकार्नुभयो। साथै, विगतमा देखिएको संसद् अवरोध गर्ने प्रवृत्ति केही हदसम्म कम भएको भन्दै यसलाई निरन्तर सुधार गर्नुपर्नेमा जोड दिनुभयो।
‘सरकारले आशाका किरणहरू दिन सक्नुपर्छ। अहिलेको गति सबैको चित्त बुझाउने खालको छैन। अब गियर परिवर्तन गर्नुपर्छ र अझ तीव्र गतिमा अघि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो।
सांसद खतिवडाले आफू हिन्दू धर्म मान्ने भए पनि नेपाल सबै धर्म, संस्कृति र समुदायलाई समान रूपमा अटाउने देश हुनुपर्ने धारणा राख्नुभयो। ‘नेपाल सबैलाई समेट्ने, सबैलाई अटाउने राज्य हुनुपर्छ। म त्यसकै पक्षमा छु,’ उहाँले स्पष्ट पार्नुभयो।
त्यसैगरी, उहाँले पछिल्लो समय राजावादी समूहहरू सक्रिय देखिएको उल्लेख गर्दै कोही व्यक्तिहरू भावनामा बहकिएर अघि बढे पनि सबैले त्यही मार्ग पछ्याउन नहुने सुझाव दिनुभयो।