नेपाल रेडक्रस सोसाइटीका अध्यक्षसहित पाँच जना निलम्बनमा
News Desk
Apr-03 , 2025 तारिख 05:29 बेलुका

रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जनालाई निलम्बन गरेको छ ।

अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र लेखेर आइएफआरसीले निलम्बन गरेको जानकारी गराएको हो । अध्यक्ष नेपालसहित विनोद कुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिनालाई निलम्बन गरेको हो ।

उनीहरूमाथि संस्थाको आधारभूत मान्यतालाई कुल्चेको, सामान्य सिद्धान्तहरु समेत परिपालना नगरेको, प्रशासनिक अराजकता निम्त्याएको, राजनीतिक आडमा आर्थिक लाभ लिएकोसहित कारण देखाउँदै उनीहरुलाई निलम्बन गरिएको हो । इन्टरनेसनल फेडेरेसन अफ रेड क्रसले कारबाही गरेकाहरू मूलतः राजनीतिक भागबण्डा गरेको आधारमा कारबाहीमा परेकाहरू छन ।

नेपाल रेडक्रसलाई पठाइएको पत्रका अनुसार यसरी कारबाहीमा पर्नेहरू तीन जना नेपाली कांग्रेसका छन भने नेकपा माओवादी केन्द्र र नेकपा एसका एक–एक जना छन । नेपाली कांग्रेसका भएर रेडक्रसमा छिरेर कारबाहीमा पर्नेहरूमा प्राध्यापक सुदर्शनप्रसाद नेपाल, विनोद कुमार बस्नेत, मनोज कुमार थापा छन । उनीहरूलाई तीन कसुरमा सजाय गरिएको छ ।