News Desk
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले २०१७ सालको सक्रिय राजसंस्था सोच्ने र खोज्नेहरु बौलाहा भएको टिप्पणी गरेका छन।
शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले २१औँ शताब्दीमा सक्रिय राजसंस्था खोज्नेहरुको मानसिक सन्तुलन ठीक नभएको टिप्पणी गरेका हुन।
अहिलेको अवस्थामा सक्रिय राजसंस्था स्थापना गर्न सम्भव नभएको उनले बताए। गणतन्त्रवादी दलहरुले राजामा भूत देखेका कारण फोटो देखे पनि तर्सिने गरेको व्यंज्ञ पनि उनले गरे।
उनले आफूहरु स्पष्ट रुपमा अभिभावकको रुपमा राजसंस्था राख्ने एजेण्डा बोकेका कारण फोटो खिच्दैमा नतर्सिन आग्रह गरे।
‘राजामा किन भूत देख्नुहुन्छ तपाईंहरु? कसैले फोटो खिच्दैमा यस्तो भन्न मिल्दैन। म राजसंस्था हुनुपर्छ भन्ने मान्छे हो यसमा दुईमत नै छैन‚’ उनले भने, ‘त्यसकारण मैले बुझेको त्यो संस्थाबाट यो काम हुँदैन। यहाँ मान्छेहरुले भनेका छन २०१७ पछिको राजसंस्था- त्यस्तो होइन हामी राजसंस्थालाई अभिभावकको रुपमा राखौँ भन्ने एजेण्डा बोकेर हिँडेको मान्छे हो। ०१७ सालको राजसंस्था कसैले सोच्छ भने त्यो बौलाहा हो।’
उनले कुनै पनि आन्दोलनलाई सामान्य रुपमा लिन नहुने बताए।