News Desk
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार बल्खुमा आयोजना गर्न लागेको जुलुससहितको आमसभालाई मध्यनजर गर्दै नेपालका तीन प्रमुख सुरक्षा निकायले समन्वयात्मक छलफल गरेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका शीर्ष पदाधिकारीहरूबीच सोमबार गम्भीर सुरक्षा योजनाबारे विचारविमर्श भएको हो।
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापा, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल, र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी छलफलमा सम्भावित जोखिम, रणनीतिक तयारी र जिम्मेवारी विभाजनबारे समन्वय गरियो।
यसै क्रममा काठमाडौंको भृकुटीमण्डपस्थित पुलिस क्लबमा उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङ, सशस्त्र प्रहरी ९ नं. पशुपतिनाथ बाहिनीका प्रमुख डीआईजी सुरेश श्रेष्ठ, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, ट्राफिक प्रहरी प्रमुखलगायतका जिम्मेवार अधिकारीहरूले संयुक्त रूपमा सुरक्षा रणनीति तय गरे।
राप्रपाले सार्वजनिक रूपमा बल्खुको कार्यक्रम शान्तिपूर्ण हुने दाबी गरे पनि विगतको घटनालाई ध्यानमा राख्दै सुरक्षा निकायहरूले कुनै पनि अप्रिय घटना हुन नदिन पूर्वतयारीलाई उच्च प्राथमिकता दिएका छन्। विशेषगरी तीनकुनेको प्रदर्शनमा तोडफोड र झडप भएको, जसमा दुईजनाको मृत्यु र सयभन्दा बढी घाइते भएका घटना स्मरणीय छ।
सो प्रदर्शनमा प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए भने केही सर्वसाधारणमाथि पनि गोली प्रहार गरिएको भन्दै प्रहरीमाथि आलोचना भएको थियो। त्यसपछि उपत्यका प्रहरी प्रमुखहरूद्वारा आफ्ना फिल्ड कमान्डरहरूलाई प्रदर्शनलाई कसरी शान्तिपूर्ण बनाउने र यदि हिंसात्मक भयो भने बल प्रयोग कसरी संयमित र कानुनी ढंगले गर्ने भन्ने स्पष्ट निर्देशन दिइएको छ।
पुलिस क्लबमा सम्पन्न छलफलमा दुवै सुरक्षा निकायका फिल्ड अफिसरहरूको सहभागिता थियो। काठमाडौं उपत्यकामा शान्ति सुरक्षा कायम गर्न राप्रपाको प्रदर्शनलाई नियन्त्रणमा राख्न आवश्यक पूर्वतयारी पूरा गरिएको प्रहरी प्रमुख एआईजी तामाङले बताएका छन्।
उनले भने, “हामीलाई भनिएको छ प्रदर्शन शान्तिपूर्ण हुनेछ तर प्रहरीले हरेक संभावनालाई ध्यानमा राखेर तयारी गर्नुपर्छ। भिडका व्यवहार भरपर्दो हुँदैन, त्यसैले हामी सजग छौँ।”
सशस्त्र प्रहरीका डीआईजी श्रेष्ठले पनि उपत्यकामा शान्ति सुरक्षाका लागि आफनो रणनीति प्रस्तुत गरेको जनाएका छन्। तीनै सुरक्षा निकायहरू प्रदर्शनका क्रममा शान्ति, सुव्यवस्था र जनधनको सुरक्षामा कुनै कसर बाँकी नराख्ने तयारीमा छन्।