News Desk
काठमाडौँ, चैत २८ — नेपाली खानाको संरक्षण र प्रवर्धनलाई लक्ष्य राख्दै सञ्चालित नेपाली खाना प्रवर्धन अभियान अन्तर्गत ‘भोजनलिपि-स्वाद’ कार्यक्रमको दोस्रो संस्करण यही २०८१ साल चैत २८ गते, बिहीबार हात्तीसारस्थित नेपाल हाउस, काठमाडौंमा सम्पन्न हुने भएको छ।
अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेफ दुर्गा खड्का र घनश्याम कँडेलको संयोजनमा हुने यो संस्करणमा नेपालका ७७ वटै जिल्लाका कृषि उत्पादनलाई समेट्ने लक्ष्य लिइएको छ। यद्यपि, केही जिल्लाबाट उपज आउन बाँकी रहेकोले सम्बन्धित किसान, किसान समूह तथा विक्रेताहरूलाई आ–आफ्ना उत्पादन यही बुधवार दिउँसो २ बजेभित्र उपलब्ध गराउन आयोजक समितिले अनुरोध गरेको छ।
कार्यक्रममा विभिन्न १५ जिल्लाका मौलिक कृषि उपजबाट तयार पारिएका स्वादिष्ट परिकारहरू प्रस्तुत गरिनेछ। सहभागीहरूका लागि परम्परागत स्वाद, सांस्कृतिक सम्पदा र नेपाली कृषि उत्पादनको विविधता अनुभव गर्ने उत्कृष्ट अवसर हुने आयोजकले जानकारी दिएको छ।
सांस्कृतिक समृद्धि र कृषि उत्पादनको सम्मानस्वरूप आयोजित यस भव्य कार्यक्रममा सहभागी हुन सबैलाई स्वागत गरिएको छ।