News Desk
काठमाडौँको तीनकुनेमा दुई जनाको ज्यान जाने गरी हिंसा मच्चाएर भारत भागेका दुर्गा प्रसाईंलाई नेपाल भित्र्याइसकिएको छ।
भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका उनलाई काँकडभिट्टा नाकाबाट आज (शुक्रबार) नेपाल भित्र्याइएको हो।
अब उनलाई भद्रपुर विमानस्थलबाट फ्लाइटमा काठमाडौँ ल्याउने तयारी गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
राजसंस्था पुनःस्थापनाका लागि भन्दै नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा हिंसात्मक प्रदर्शन गर्दा रिपोर्टिङ गरिरहेका पत्रकारसहित २ युवक मारिएका थिए भने तोडफोड, आगजनी र लुटपाटबाट करोडौँ मूल्यकाे क्षति भएको थियो।
प्रसाईं त्यस समितिअन्तर्गतका जनकमान्डर हुन। तर हिंसा चर्किएपछि उनी लगत्तै फरार भएका थिए।
त्यही घटनामा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवलशमशेर राणासहित ७३ भन्दा बढी आरोपितलाई पक्राउ गरिसकेको छ।
प्रसाईं भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पत्ता लगाएको थियो। फरार भएयता उनले दुईवटा भिडिओ सन्देश सामाजिक सञ्जालमा अपलोड गरेका थिए। तर त्यसमा उनले आफू नेपालमै रहेको दाबी गरेका थिए।
प्रसाईं भागेलगत्तै नेपाल प्रहरीको विशेष ब्युरोको टोली पछ्याउँदै पुगेको थियो।
विशेष सूचनाका आधारमा ब्युरोको टोली भारतमा उनी रहेको स्थानको नजिक पुगिसकेको थियो। प्रहरी पुगेको सुइँको पाएपछि त्यहाँबाट पनि भागेर उनी सामाजिक सञ्जालसमेत नचलाएर उनी गुपचुप बसेका थिए।
तर बुधबार उनले सामाजिक सञ्जालमा अर्को भिडिओ राखेर आफू भागेको नभई असुरक्षित रहेका कारण जोगिएको बताएका थिए।