भक्तपुरको व्यापारिक केन्द्र राधेराधेमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञबाट ८० लाख रुपैयाँ संकलन
News Desk
Apr-11 तारिख 11:30 बिहान

भक्तपुरको व्यापारिक केन्द्र राधेराधेमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञबाट ८० लाख रुपैयाँ संकलन भएको छ । बेवारिसे तथा असहाय सडक मानवहरूको सहयोगका लागि मानव कल्याण समाजले चैत २१ गतेदेखि आयोजना गरेको महायज्ञबाट संकलित रकम मानव कल्याण समाजको भवन निर्माणमा खर्च गरिने भएको महायज्ञमा संस्थाकी अध्यक्ष सुमी मानवले बताउनुभयो ।

महायज्ञमा कबोल भएको रकम पूर्ण रूपमा नगदमा प्राप्त भएको समितिका कोषाध्यक्ष नरेश रंजितले बताउनुभयो । संकलन भएको कुल रकममध्ये २५ लाख १८ हजार ७ सय रुपैयाँ खर्च भएको र महायज्ञपछि ५५ लाख २५ हजार १६ रुपैयाँ जोगिएको उहाँको भनाइ छ । महायज्ञको क्रममा स्थानीय तहहरूले जग्गा व्यवस्थापन गर्ने तथा बागमती प्रदेश सरकारले भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको महायज्ञ मूल आयोजक समितिका संयोजक गोपीकृष्ण न्यौपानेले बताउनुभयो ।

आफूले कुनै पारिश्रमिक नलिएको बताउँदै समितिबाट प्राप्त १ लाख रुपैयाँ दक्षिणा र कथा वाचनका क्रममा भक्तजनले चढाएको ७६ हजार रुपैयाँ समेत संस्थालाई कथा वाचिका सुमी मानवले हस्तान्तरण गरेकी छिन् । २०७४ सालमा स्थापना भएको मानव कल्याण समाजले बेवारिसे सडक मानवहरूको उद्धार, सरसफाइ, स्वास्थ्य उपचार, पुनर्मिलन र काउन्सिलिङ लगायतका सेवाहरू दिँदै आएको छ ।

धेरै पढिएको