“अब वीरगञ्जवासीले चापाकल चलाउनु नपर्ने दिन आउँदैछ" : मन्त्री यादव
News Desk
Apr-12 , 2025 तारिख 04:14 बेलुका

वीरगञ्ज - संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिकाका सम्पूर्ण बासिन्दालाई अब घर–घरमै निःशुल्क खानेपानी वितरण गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

ओम नेशनल एकेडेमी वीरगञ्जद्वारा आयोजित “Farewell Program 2081” मा बोल्दै मन्त्री यादवले पानी आपूर्ति सुधारका लागि एशियन डेभलपमेन्ट बैंक (ADB) को सहयोगमा साढे ४ अर्ब रुपैयाँको लागतमा जल आपूर्ति प्रणाली निर्माण भइरहेको जानकारी दिए।

“अब वीरगञ्जवासीले चापाकल चलाउनु नपर्ने दिन आउँदैछ,” मन्त्री यादवले भने, “घरघरमा पाइपबाट निःशुल्क शुद्ध पानी वितरण गरिनेछ।”

पर्सा र सर्लाही जिल्लामा भोजपुरी भाषी जनसंख्या बढी भएकोले मन्त्री यादवले आफ्नो मन्तव्य भोजपुरी भाषामै राख्दै विद्यार्थीहरूलाई परीक्षा तयारीमा मन लगाएर पढ्न प्रेरणा दिए।

 

“फाइनल परीक्षा नजिकिएको छ, विगतका गल्तीहरू भुली मेहनत गर्नुपर्छ,” मन्त्री यादवले भने, “विज्ञान पढ्ने विद्यार्थीहरू साहसी हुन्छन्, यहीँबाट भोलिका इञ्जिनियर र वैज्ञानिक जन्मनेछन्।”

ढल व्यवस्थापनमा पनि सरकारले ध्यान दिइरहेको उल्लेख गर्दै उनले वडा नं. २०, ३०, ३१, नगवा लगायत क्षेत्रहरूमा डेढ अर्ब रुपैयाँको लागतमा योजना कार्यान्वयनमा रहेको जानकारी दिए।

कार्यक्रममा उनले आफ्नो पूर्व जिम्मेवारीहरू सम्झँदै भने, “वन मन्त्रालय सम्हाल्दा रामपुरमा चिडियाखाना निर्माण अगाडि बढाइयो, स्वास्थ्य मन्त्रालय सम्हाल्दा नारायणी अस्पतालमा ठेक्का प्रक्रिया सुरु गरियो।”

कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूले सांस्कृतिक तथा मनोरञ्जनात्मक नृत्य प्रस्तुत गरेका थिए, जसले कार्यक्रममा थप रौनक थपेको थियो।

DIPU BARNWAL