News Desk
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई १७ हजारको हत्यारा भनिरहँदा नेता कार्यकर्ताले प्रतिवाद नगरेको भन्दै गुनासो गरेका छन्।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो गुनासो गरेका हुन्। उनले १७ हजार मानिस युद्धको नियमानुसार मारिएको बताए। उनले त्यसबेला राज्य पक्षले कति र विद्रोही पक्ष (तत्कालीन माओवादी) ले कति हत्या गर्यो भन्ने अध्ययन गर्न सकिने बताए। उनले बिनाअध्ययन आफूमाथि १७ हजारजनाको हत्याको आरोप लगाइएको भन्दै आपत्ति जनाए।
उनले अहिलेसम्म आफूले एकजनालाई पनि नपिटेको बताए। उनले तत्कालीन युद्धको नेतृत्व आफूले गरेको र शान्तिमा आएपछि सम्पूर्ण कुराको जिम्मा लिएको बताए।
प्रचण्डले भने, ‘मैले एकजनालाई पिटेको पनि छैन अहिलेसम्म। युद्धको नेतृत्व गरेकाले मैले शान्तिमा आएपछि सम्पूर्ण कुराको जिम्मा लिन्छु भनेकै थिएँ। यति धेरै गलत आरोप लाग्दा पनि तपाईंहरू कोही बोल्न चाहनुभएको छैन। तपाईंहरू पनि यसमा बोल्नुभन्दा नबोल्नु नै ठिक छ भनेको जस्तो गरेको देख्छु मैले। यो ठिक छैन। माओवादी मात्रै १७ हजारको जिम्मेवार हो? किन हामी बोल्दैनौँ भन्ने मेरो प्रश्न हो।’
अध्यक्ष दाहालले सबै नेताहरू उस्तै हुन् भन्ने भाष्य बनाइएको भन्दै आपत्ति जनाए। लोकतन्त्रलाई नेतातन्त्र भनेकोप्रति पनि उनको असन्तुष्टि छ। उनले यसको फाइदा निरंकुश र तानाशाहीलाई भइरहेको बताए।
अध्यक्ष दाहालले यौनजन्य हिंसामा परेका हजारौँ पीडित महिलालाई अगाडि ल्याउन कोही न कोहीले जोखिम उठाउनुपर्ने बताए। द्वन्द्वकालमा यौनजन्य हिंसामा राज्य पक्ष र विद्रोही पक्ष कति जिम्मेवार छ भन्न डराउन नहुने बताए।