राप्ती राजमार्ग आइतबार दिउँसो ३ बजेदेखि अवरुद्ध
News Desk
Apr-15 तारिख 06:17 बिहान

लगातारको वर्षासँगै आएको पहिरोले राप्ती राजमार्ग आइतबार दिउँसो ३ बजेदेखि अवरुद्ध भएको छ । कपुरकोट गाउँपालिकाको चोरखोला नजिकै केही स्थानमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । 

राजमार्ग अवरुद्ध हुँदा दर्जनौं यात्रुबाहक गाडी र त्यसमा सवार यात्रु सडकमै अलपत्र परेका छन् । लामो समय सडक नखुल्दा कतिपय हिँडेर आउजाउ गर्न बाध्य छन भने कतिपय गाडीमै बसिरहेका छन् ।

एक्स्काभेटर लगाएर पहिरो हटाउने प्रयास भए पनि माथिबाट ढुंगामाटो खस्ने क्रम नरोकिएका कारण अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी केशर कुमार न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार साना यातायातका साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ भने ठूलो बस र मालवाहक गाडी बीचमै अलपत्र परेको छ । हिजो अबेर पहिरो हटाउने प्रयास गरिए पनि रात परेकाले काम रोकिएको थियो । आज बिहान ३ बजेदेखि पहिरो खुलाउने प्रयास गरिए पनि फेरि माथिबाट ढुंगा खसेर एक्स्काभेटरमा क्षति पुर्‍याएको छ । अर्को एक्स्काभेटर ल्याएर बाटो खुलाउने प्रयास भइरहेको डीएसपी न्यौपानेले बताउनुभयो ।

चोरखोला आसपासमा सडक स्तरोन्नति भइरहेको र सडकमा थुपारेको ढुंगामाटो, बालुवा र हिलोले यात्रुलाई सास्ती भएको छ ।

धेरै पढिएको