२०८२ वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले
News Desk
Apr-16 , 2025 तारिख 11:22 बिहान

काठमाडौं, वैशाख २ – संघीय सरकारको मन्त्रिपरिषद्को २०८२ वैशाख २  गते बसेको बैठकले संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य छिटो पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय गरेको छ। सोही प्रयोजनका लागि संघीय संसद्को अधिवेशन वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे आह्वान गर्ने निर्णय समेत गरिएको हो।

बैठकमा नेपाल शिक्षक महासंघले उठाएका मागहरूबारे सरकार संवादमा निरन्तर सक्रिय रहेको र तिनको यथोचित सम्बोधन गर्न सरकार गम्भीर र संवेदनशील रहेको जानकारी दिइयो। सरकार शिक्षक महासंघका जायज मागहरूप्रति सकारात्मक रहेको र समाधानका लागि संवादका ढोका खुला रहेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिइन्।

यसैबीच, शिक्षक महासंघको आह्वानमा भइरहेका विरोध तथा प्रदर्शनहरूप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बैठकले जनाएको छ। विद्यार्थी भर्ना, एसइईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को राष्ट्रिय परीक्षा चलिरहेको संवेदनशील समयमा भइरहेको आन्दोलनले शिक्षा क्षेत्रमा अवरोध सिर्जना गर्ने देखिएकाले अभिभावक र विद्यार्थीको हितलाई ध्यानमा राखी सम्पूर्ण शिक्षकहरूलाई आ–आफ्नो कार्यस्थलमा फर्कन सरकारको तर्फबाट अनुरोध गरिएको छ।