वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलन आगामी जेठ १७, १८ र १९ गते काठमाडौँमा हुँदै
News Desk
Apr-17 , 2025 तारिख 10:40 बेलुका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट शक्तिशाली युवा संगठन, योङ कम्युनिस्ट लिग (वाइसिएल) को तेस्रो राष्ट्रिय सम्मेलन आगामी जेठ १७, १८ र १९ गते काठमाडौंमा हुँदैछ। वाइसिएलका अध्यक्ष सुबोध शेर्पाली संगठनबाट बिदा हुने भएपछि नयाँ नेतृत्व चयनका लागि संगठनभित्र दौडधुप तीव्र बनेको छ।

वाइसिएल माओवादी केन्द्रको प्रभावशाली संगठनका रूपमा चिनिँदै आएको छ। विगतमा अध्यक्ष गणेशमान पुन र रामप्रसाद सापकोटा ‘दीपशिखा’ को नेतृत्वमा संगठनको व्यापक प्रभाव र सक्रियता देखिए पनि पछिल्लो समय त्यो प्रभाव घट्दै गएको नेताहरू स्वयम् स्वीकार गर्छन्।

हाल वाइसिएलको नेतृत्व चयन प्रक्रियामा पार्टी नेतृत्वले हस्तक्षेप गरेको भन्दै विभिन्न नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन्। यद्यपि, आगामी सम्मेलनबाट आउने नयाँ नेतृत्वले संगठनलाई फेरि सशक्त बनाउने वाचा गर्न थालेका छन्। धेरै नेताहरूले ‘सर्वसम्मत’को नाममा टिके प्रथा अन्त्य गर्नुपर्ने र चुनावमार्फत सक्षम नेतृत्व चयन गर्नुपर्ने माग राखिरहेका छन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका छन्। तर, सर्वसम्मति हुन नसकेमा निर्वाचनको बाटो खुला रहने उनले प्रष्ट पारेका छन्।

वाइसिएलको अध्यक्ष पदका लागि केयरसिंह कुँवर, पुष्प ओली, नवराज ऐर, ललित श्रेष्ठ लगायतले दाबी गरेका छन्। कुँवर, ऐर र ढकालजस्ता नेताहरू पार्टी संगठनमै लामो समयदेखि क्रियाशील छन् भने ओली र श्रेष्ठ पूर्व जनमुक्ति सेनाको पृष्ठभूमिबाट आएका हुन्। ललित श्रेष्ठ जनयुद्धका समयमा घाइते भएका योद्धा समेत हुन्।

महासचिव पदका लागि धिरज उपरकोटी, सन्तोष पनेरु, गणेश शाही, हरि ढकाललगायतका नेताहरूले दाबी गरेका छन्। उपरकोटी र शाही तत्कालीन जनमुक्ति सेनाका पूर्णकालीन कार्यकर्ता हुन्। धिरज उपरकोटी २०६३ सालको शान्ति प्रक्रियापछि भ्याली क्षेत्रमा सक्रिय हुँदै क्षेत्रीय सचिवसमेत भइसकेका छन्। पनेरु भने पार्टी एकतापछि संगठनमा समाहित भएका हुन्। हरि ढकाल विगतमा विद्यार्थी संगठनमा क्रियाशील थिए भने केही समय नेकपा माओवादी केन्द्र छाडेर विप्लव नेतृत्वको पार्टीमा लागेका थिए।

उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष पदमा भने अध्यक्ष र महासचिव पदमा जस्तो तीव्र प्रतिस्पर्धा देखिएको छैन।

हाल वाइसिएलको संरचनाअनुसार ६५ पदाधिकारीसहित ३१४ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ। आगामी सम्मेलनमा सोही संरचना अझ सुदृढ पारिने अपेक्षा गरिएको छ।