News Desk
काठमाडौं – प्रधानमन्त्री र सभामुखसँगको भेटवार्ताले शिक्षकहरूको मन जित्न सकेन । विद्यालय शिक्षा विधेयक तत्काल ल्याइनुपर्ने माग गर्दै आन्दोलनरत शिक्षकहरूले आन्दोलन थप चर्काउने घोषणा गरेका छन् । अब उनीहरू हिजोको जस्तै मध्यान्ह १२ देखि ३ बजेसम्म होइन, आजबाट बिहान ९ बजेदेखि नै माइतीघर–बानेश्वर सडक अवरुद्ध गर्दै आन्दोलन गर्ने भएका छन् ।
नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि काठमाडौंमा जारी आन्दोलन शिक्षा विधेयक संसद्मा पारित नगरेसम्म नरोकिने स्पष्ट सन्देश दिइएको छ ।
शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग राति ९ बजे सुरु भएको छलफल साढे दुई घण्टासम्म चल्यो । उक्त छलफलमा महासंघले बालविकास केन्द्र, विद्यालय कर्मचारी, साविक उच्च माध्यमिक तह, अस्थायी तथा राहत शिक्षकको स्थायीत्व, पारिश्रमिक सुनिश्चितता, ग्रेड मिलान, तलब समायोजन र शिक्षासम्बन्धी विधेयकको माग पुनः प्रस्तुत गर्यो । प्रधानमन्त्रीले सबै मागहरूमाथि सकारात्मक धारणा राख्दै बजेट अधिवेशनमै विधेयक टेबल गरी पारित गर्ने प्रतिबद्धता जनाए पनि शिक्षकहरू विश्वस्त बन्न सकेनन् ।
प्रधानमन्त्रीसँगको छलफलपछि महासंघको टोली सभामुख देवराज घिमिरेलाई भेट्न राति पौने १२ बजे उहाँको निवास पुग्यो । एक घण्टा लामो छलफलमा सभामुखले शिक्षा समितिबाट विधेयक ११ गतेभित्र पेश भए दुई दिनभित्र पास गराउने आश्वासन दिएका थिए ।
तर बारम्बार आश्वासन र प्रतिबद्धता दोहोरिँदै आएको भन्दै शिक्षकहरू अझै आश्वस्त छैनन् । उनीहरूको भनाइ छ— “कानुन टेबल भयो भने मात्रै आन्दोलन रोकिन्छ, आश्वासनले होइन ।”
चैत २० देखि जारी आन्दोलनले पठनपाठन ठप्प पारेको छ । सामुदायिक विद्यालयका लाखौं बालबालिका शिक्षाबाट वञ्चित भइरहेका छन् । शिक्षक महासंघले शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने बताएको छ ।
सडक आन्दोलन थप सशक्त बनाउने रणनीति बनाउँदै शिक्षकहरू अझै दृढ बनेका छन् ।