प्रजिअ जोशीद्वारा पत्रकारलाई ‘दलाल’ भनिएको आरोपप्रति महासंघको आपत्ति
News Desk
Apr-21 , 2025 तारिख 12:34 बेलुका

बाँकेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मराज जोशीले पत्रकारमाथि अमर्यादित भाषा प्रयोग गरेको आरोपमा नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाएको छ।

मिशन टुडे दैनिकका पत्रकार शुभाकर विश्वकर्मीले वैशाख ५ गते शुक्रबार नागरिकता सम्बन्धी विषयमा जानकारी लिँदै फोन सम्पर्क गर्दा प्रजिअ जोशीले गालीगलौज गर्दै अपशब्द प्रयोग गरेको महासंघ बाँके शाखाको दाबी छ। जोशीले "नागरिकता माग्दै फोन गर्ने सबैलाई म दलाल ठान्छु" भन्ने अभिव्यक्ति दिएको पनि महासंघले जनाएको छ।

त्यसैगरी, घटनापछि बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले समेत पत्रकार विश्वकर्मीलाई फोन गरेर सोधपुछ गरेको शाखाले जनाएको छ।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राज्यका जिम्मेवार व्यक्तिबाट पत्रकारमाथि यस प्रकारको व्यवहार हुनु अत्यन्तै निन्दनीय, गैरजिम्मेवार र प्रेस स्वतन्त्रताको उल्लंघन हो।” उनले यस घटनाले पत्रकारलाई हतोत्साहित गर्नुका साथै पेसागत सुरक्षा र सामाजिक सद्भावमा आँच पुर्‍याएको बताए।

महासंघले प्रेसविरोधी भनिएको उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गर्दै, यस्ता घटना दोहोरिन नदिन राज्यका सम्बन्धित निकायलाई तत्काल आवश्यक पहल गर्न माग गरेको छ।

महासंघले सबै पत्रकारलाई निडर, सुरक्षित र स्वतन्त्र वातावरणमा कार्य गर्न पाउने सुनिश्चितता राज्यले गर्नुपर्नेमा जोड दिएको छ।