News Desk
बनेपा, बैशाख ८, २०८२ – नेपाल पत्रकारिता क्षेत्रको एक महत्त्वपूर्ण ग्रामिण प्रतिनिधि मञ्च नव क्षितिज साप्ताहिकले आफ्नो २५औं वार्षिकोत्सव (रजत जयन्ती) को अवसरमा उद्योगपति, व्यवसायी, समाजसेवी तथा लेखक प्रल्हाद दाहाललाई ‘नव क्षितिज रजत सम्मान’ प्रदान गरेको छ।
काभ्रेपलाञ्चोकको बनेपाबाट प्रकाशन हुने नव क्षितिज साप्ताहिक ले आयोजना गरेको रजत वर्ष शुभारम्भ समारोहमा दाहाललाई नेपालका कृषि, विशेषगरी दुग्ध क्षेत्र, साथै कला, साहित्य, इतिहास र सामाजिक विकासजस्ता विषयमा लामो समयदेखि कलम चलाउँदै समाजमा पु¥याएको उल्लेखनीय योगदानको कदर गर्दै सम्मान गरेको हो।
समारोहमा प्रथम राष्ट्रपति डा. रामवरण यादव तथा नव क्षितिज साप्ताहिक का अध्यक्ष एवं प्रधान सम्पादक नवराज बजगाईले दाहाललाई सम्मान–पत्र प्रदान गरेका थिए। सो अवसरमा सम्पादक बजगाईले समाज रुपान्तरणमा दाहालको सक्रिय र प्रभावकारी भूमिका रहेको उल्लेख गर्दै उहाँको योगदानको खुलेर प्रशंसा गरे।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, पत्रकार, साहित्यकार, सञ्चारकर्मी तथा समाजका अगुवा व्यक्तिहरूको उपस्थिति रहेको थियो।
सम्मानित प्रल्हाद दाहाल हाल डेरी उद्योगमा सक्रिय छन्। साथै, उनी नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्षको जिम्मेवारी समेत सम्हालिरहेका छन्। उद्योग र व्यापारसँगै दाहाल सामाजिक तथा लखन जस्तो सिर्जनशील गतिविधिमा पनि उत्तिकै सक्रिय छन्।
दाहालका पिता स्व. चित्र प्रसाद दाहाल र माता स्व. हरिमाया दाहाल हुन्। उनको जन्म काभ्रेको पाँचखाल नगरपालिका–२, ज्यामिरकोटमा भएको हो।
उद्योग, समाजसेवा र सृजनात्मक लेखनमा समर्पित दाहालजस्ता व्यक्तित्वलाई गरिएको सम्मानले स्थानीय पत्रकारिता र सामाजिक योगदानप्रतिको कदरलाई अझ सुदृढ बनाएको आयोजकको भनाइ छ।
