News Desk
पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमको एक भिडिओ क्लिप्स अहिले सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भइरहेको छ, जहाँ उनले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथप्रति आक्रामक प्रतिक्रिया दिएका छन्।
नेपाली पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा गौतमले हिन्दु राष्ट्रबारे स्पष्ट धारणा राख्दै भने, “नेपाल हिन्दु राष्ट्र हुन सक्दैन।” राष्ट्रिय सभा सदस्यसमेत रहेका नेकपा एकता राष्ट्रिय अभियानका संयोजक गौतमले थपे, “हिन्दु राष्ट्र भारत भए मात्र नेपाल पनि हुन सक्छ, भारत नभइकन नेपालले हिन्दु राष्ट्रको रूप लिन सक्दैन।”
धमलाले प्रश्न गरेपछि कि योगी आदित्यनाथले नेपाललाई हिन्दु राष्ट्र बनाउने अभिव्यक्ति दिइसकेका छन्, गौतमले कडा स्वरमा जवाफ फर्काउँदै भने, “तिनले भनेर हुन्छ? यहाँ आएर भनून् त। तिनको नाकै भाँचिने गरी ठटाउँछु।”
पछिल्लो समय पोखरादेखि काठमाडौँसम्म आयोजित पूर्वराजा ज्ञानेन्द्रको स्वागत र्यालीमा योगी आदित्यनाथको फोटो अंकित ब्यानर प्रदर्शन गरिएको थियो। त्यस सन्दर्भमा पनि वामदेवको उक्त भनाइ सार्वजनिक बहसको विषय बन्न पुगेको हो।
यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत चैतमा एक भेटघाटको प्रसंग उठाउँदै दाबी गरेका थिए कि योगी आदित्यनाथ नेपालमा राजतन्त्र वा हिन्दु राष्ट्र स्थापनाका पक्षमा नरहेको बताएका छन्। उक्त भनाइ दिल्लीस्थित नेपाली राजदूत शंकरप्रसाद शर्मासँगको संवादमा आएको जनाइएको छ।
वामदेवको अभिव्यक्तिले नेपालमा धर्म, राजनीति र छिमेकी मुलुकको प्रभावसम्बन्धी बहसलाई फेरि एक पटक तातो बनाएको छ।