प्रहरी निरीक्षकमा पदोन्नति भएका ६० जना अधिकृत दर्ज्यानी चिन्हद्वारा सुशोभित
News Desk
Apr-24 , 2025 तारिख 08:41 बिहान

काठमाडौं, वैशाख ११ – नेपाल सरकार गृह मन्त्रालयको २०८२ वैशाख ९ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ नायब निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ६१ जना मध्ये ६० जना अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

प्रहरी प्रधान कार्यालय, नक्सालमा बुधबार आयोजित विशेष समारोहमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले नवपदोन्नत प्रहरी निरीक्षकहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो।

समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक थापाले पदोन्नति प्राप्त गरेका अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुका साथै संगठनको गरिमा अभिवृद्धि गर्न उच्च मनोबल, अनुशासन र सामूहिक भावनाका साथ कार्य सम्पादन गर्न निर्देशन दिनुभयो।

उहाँले नवपदोन्नत अधिकृतहरूलाई आफ्नो बढ्दो जिम्मेवारी र पदको गरिमा अनुसार निष्पक्ष, कर्तव्यपरायण र निष्ठापूर्वक सेवा प्रदान गर्न आग्रह गर्नुभयो।

एक जना अधिकृत भने विशेष कारणवश दर्ज्यानी चिन्ह प्रदान समारोहमा उपस्थित हुन नसकेको जनाइएको छ।

धेरै पढिएको