उपप्रमुख डंगोलको गुनासो : ‘काम गरेकै कारण चौतर्फी आक्रमण भोग्दैछु’
News Desk
Apr-25 , 2025 तारिख 05:57 बिहान

काठमाडौँ, वैशाख १२ – काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले आफू चौतर्फी आक्रमणको निशानामा परेको गुनासो गरेकी छन्। बिहीबार राजधानीको भृकुटीमण्डपमा आयोजित ‘युथ सेलिब्रेसन’ कार्यक्रममा बोल्दै उनले आफूमाथि भइरहेको आलोचनालाई आफूले गरेका कामको असर भएको बताइन्।

‘मैले नेकपा एमालेबाट उम्मेदवारी लिएर उपमेयरको जिम्मेवारी सम्हालेकी हुँ। कुनै बार, दिन र समय नहेरी निष्ठा, इमान र कर्तव्यका साथ जनताको सेवामा खटिएँ,’ उपमेयर डंगोलले भनिन्, ‘यही बफादारी, निष्ठा र कर्मठताको कारण जनताबीच विश्वास बढ्यो, प्रशंसा पनि हुन थाल्यो। तर मेरो कामले केहीलाई पोल्न थाल्यो, अनि आक्रमण सुरु भयो।’

उनले राष्ट्र निर्माणको दिशामा देखिएको सकारात्मक परिवर्तनलाई मन नपर्ने र परिवर्तनको गति सहन नसक्ने समूहले आफूलाई लक्षित गर्दै हमला गर्न थालेको आरोप लगाइन्।

डंगोलले काठमाडौं महानगरपालिकाको राम्रो अभ्यासलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अवसर पनि आफूले पाएको उल्लेख गरिन्। ‘योङ ग्लोबल लिडर’ को रूपमा अन्तर्राष्ट्रिय फोरममा नेपालको प्रतिनिधित्व गर्न सफल भएकी उपमेयर डंगोलले देशको नाम उज्यालो बनाउन आफू निरन्तर सक्रिय रहेको बताइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि राष्ट्रवादको बाटो समातेकै कारण आक्रमण भइरहेको भन्दै उनले स्वच्छ नियत र समर्पणका साथ काम गरिरहेकाहरूलाई सधैं कठिनाइ आउने संकेत दिइन्। ‘प्रधानमन्त्री ओली जस्तै राष्ट्रहितमा काम गर्नेलाई पनि निशाना बनाउने क्रम चलिरहेको छ,’ डंगोलले भनिन्।

उनको सम्बोधनमा युवा प्रेरणा, इमानदार नेतृत्व र कार्यशैलीमा विश्वास राख्दै जिम्मेवार भूमिका निर्वाह गरिरहेका जनप्रतिनिधिमाथिको आलोचना, अपेक्षा र चुनौतीबारे गम्भीर सन्देश झल्किएको थियो।

धेरै पढिएको