सफलतालाई अस्वीकार गर्ने र मजाक उडाउने काम भएको छ : प्रधानमन्त्री ओली
News Desk
Apr-25 , 2025 तारिख 12:06 बेलुका

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूले नै देश अगाडि बढाउनुपर्ने भन्दै जन्मजात श्रेष्ठताका आधारमा शासन गर्न खोज्ने राजतन्त्रलाई देखिने र सुनिनेगरी अस्वीकार गर्नुपर्ने बताएका छन।

बिहीबार एमालेले आयोजना गरेको ‘युथ सेलिब्रेसन’मा सम्बोधन गर्दै उनले राजतन्त्र पक्षधरले हालै काठमाडौँमा विध्वंश मच्चाएर आफ्नो असली रुप देखाइसकेको समेत टिप्पणी गरे।

‘अब देशलाई तपाईंहरूले अगाडि बढाउनु पर्नेछ,’ ओलीको भनाइ छ, ‘देश कस्तो बनाउने? जन्मिदै श्रेष्ठताको कुनै वैज्ञानिक आधार नभएको पाखण्डी सिद्दान्त, कुल घरानाका आधारमा शासन गर्न खोज्ने सामान्ती युगलाई फेरि फर्काउने आवाज पनि कता कता सुनिन थालेका छन।’ 


उनले अगाडि भने, ‘लोकतन्त्र नमान्ने, संविधान नमान्ने। जनताको बलिदानको अपमान गर्ने, संघर्षको अपमान गर्ने, सफलतालाई अस्वीकार गर्ने र मजाक उडाउने काम भएको छ। जनताको हत्या गर्ने, तोडफोड गर्ने, आगजानी गर्ने, मिडियागृहमा आगजानी गर्ने। यसरी कुन शासन ल्याउन खोजेका छन भन्ने प्रष्ट भएको छ। अब युवाहरूले त्यस्ता कुरालाई देखिनेगरी, सुनिनेगरी अस्वीकार गर्नुपर्दछ।’ 

लोकतन्त्रको रक्षा गर्ने, संविधानको रक्षा गर्ने र देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउने काम गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड छ।