भोली डाँडापौवामा युनिप नेपाल च्याप्टर र वास्ता नेपालको संयुक्त आयोजनामा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर हुने
News Desk
Apr-25 , 2025 तारिख 06:59 बेलुका

काठमाडौं, बैशाख १२ – युनाइटेड नेचर इन्टरनेशनल पिस (युनिप) नेपाल च्याप्टर, काठमाडौं र बालबालिका वास्ता नेपालको संयुक्त आयोजनामा भोली, बैशाख १३ गते नागार्जुन नगरपालिका वडा नं. ६ स्थित डाँडापौवाको सीताराम माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर, मोतीबिन्दु छनौट तथा दन्त स्वास्थ्य शिविर आयोजना हुने भएको छ।

स्वास्थ्य सेवामा सहज पहुँच नपाएका समुदायलाई लक्षित गरी सञ्चालन गर्न लागिएको यस शिविरबाट सयौं स्थानीय बासिन्दाहरू लाभान्वित हुने अपेक्षा गरिएको छ। शिविरमा आँखा परीक्षण, मोतीबिन्दुको प्रारम्भिक छनौट, दन्त रोग परीक्षण तथा आवश्यक परामर्श सेवा प्रदान गरिनेछ।

शिविरमा स्वयम्भू सर्जिकल आँखा केन्द्र र तिलगंगा आँखा अस्पतालका विशेषज्ञ चिकित्सकहरूको प्राविधिक सहयोग रहनेछ। साथै, स्वयम्भू सामुदायिक अस्पताल, डल्लु आवास समाज डेण्टल अस्पताल, सीतापाईलाको टोलीले दन्त परीक्षण तथा परामर्श सेवा दिनेछन्।

यस स्वास्थ्य शिविरमा नागार्जुन नगरपालिकाको महत्वपूर्ण सहयोग रहनेछ भने अनुभवी आश्रम र सीताराम माध्यमिक विद्यालयको सहकार्यमा कार्यक्रम सञ्चालन गरिनेछ।

आयोजक संस्थाहरूले आगामी दिनहरूमा पनि यस्ता जनमैत्री स्वास्थ्य कार्यक्रमहरूलाई निरन्तरता दिँदै स्थानीय समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने प्रतिबद्धता जनाएका छन्।